Swornakshar Logo

ललितपुरको वि केयर सुधार केन्द्रमाथि हत्याको मुद्दा

१० माघ । काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ सेतीपाखामा रहेको वि केयर लागुऔषध पुनःस्थापना तथा सुधार केन्द्रमा शारीरिक यातनाका कारण एक जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ। सोलुखुम्बुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड –४ का ४८ वर्षीय सुनील खड्काले संचालन गरेको वि केयर पुनर्स्थापना केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको हत्या भएको भन्दै घिमिरेका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका हुन्। मदिरा सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्थापना केन्द्रमा भर्ना गरेका थिए।


उनको दुई दिनपछि माघ ५ गते मृत्यु भएको प्रहरीले जनाएको छ। पीडितको उजुरीका आधारमा घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए। घिमिरेको मृत्यु शंकास्पद देखिएको छ। मृतकका आफन्तको किटानी जाहेरीपछि पुनःस्थपना केन्द्रका संचालक छिरिङ ग्याल्जेन शेर्पा र सुनील खड्कालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ, बाँकी पोस्टमार्टम रिपोर्टबाट थाहा हुन्छ, मिश्रले भने। मृतक घिमिरेका साला प्रेम लामाले भने भिनाजुको मृत्यु नभई हत्या भएको बताए। उनले भने, दुई दिनअघि केही सुधार होला भनेर राखेको मान्छे कसरी एक्कासि मृत्यु हुन्छ ? शरीरभरि निलडाम छन्। करङको तीनवटा हड्डीसमेत भाँचिएको छ। आफैँ मृत्यु भएको थियो भने हड्डी कसरी भाँचिन्छ ? लामाले भने। घटना हेर्दा करेन्टको झड्का र पिटाइपछि मृत्यु भएको हुन सक्ने उनको भनाइ छ। वि केयर सुधार केन्द्रका स्टाफ कोडनेटर आङ छिरिङ लामा भने सीताराम पहिलादेखि नै कमजोर र बिरामी अवस्था आएरको र कालगतिले नै उनको मृत्यु भएको बताए। गाउँमै दुर्घटना परेर घाइते भएको भन्ने सुन्नमा आएको छ, हामी पनि बुझिरहेका छौँ, प्रहरीलाई अनुसन्धान गर्न पनि सहयोग नै गरेका छौँ, हामीले किन हत्या गर्नु पुनस्थापना केन्द्रमा हामी कसैलाई कुनै प्रकारको शारीरिक यातना दिँदैनौ, लामाले भने। पैसा दिने आश्वासन
पुनःस्थापन केन्द्रका संचालकले मृतक घिमिरेका आफन्तलाई क्षतिपूर्ति रकम दिने भन्दै आश्‍वासन दिएको मृतकका साला प्रेम लामाले बताए। हिजोसम्म क्षतिपूर्ति दिन्छु भनेर हामीलाई फकाउनसमेत खोजेका थिए,लामाले भने, हामी घटनाको वास्तविकता के हो खोज्न चाहन्छौँ। आफन्तले प्रतिमहिना १५ हजार बुझाउने गरी घिमिरेलाई पुनःस्थापना केन्द्रमा भर्ना गरेका थिए।