Swornakshar Logo

केसीको नाममा शिक्षण अस्पतालमा दादागिरी

८ माघ । काठमाडौ । केसीको अनशन र उनले उठाएको मागको चुरो जनपक्षीय छ । यसमा शङ्का गर्ने ठाउँ छैन । तर अचम्म र उदेकलाग्दो कुरा त के छ भने, जनताको हितमा गरिएको भनिएको उनको अनशनकै नाममा आम जनताले निर्वाध स्वास्थ्य सेवा पाउनुपर्ने उनीहरूको आधारभूत हकअधिकारमाथि बन्चरो हान्ने काम पनि भइरहेको छ ।

अब्बल उपचार हुने भनी नाम कमाएको तथा सर्वसाधारण बिरामीहरूको अत्यधिक चाप रहने सरकारी शिक्षण अस्पतालमा कार्यरत चिकित्सकले सोही अस्पतालमा अनशन बस्दा, आन्दोलन गर्दा त्यहाँको स्वास्थ्य सेवा नराम्ररी प्रभावित भइरहेको छ ।

आफ्नो अनशनका कारण सर्वसाधारणको उपचारमा बाधा नहोस् भनेर डा। केसी स्वयंले बारम्बार भन्दै आएका छन् । तर उनको अनशनलाई समर्थन गर्ने नाममा त्रिवि शिक्षण अस्पतालका केही स्वास्थ्यकर्मी र विद्यार्थीले जबरजस्ती अस्पताल प्रशासनलाई धम्क्याउँदै सेवा बन्द गर्ने गरेका छन् ।

केसीको अनशनमा आन्दोलनरत स्वास्थ्यकर्मीले अस्पताल बन्द गर भन्ने र प्रशासनले नमान्दा धेरै पटक हात हालाहाल नै भएको अस्पताल प्रशासन स्रोत बताउँछ ।

त्यसले एकातिर केसीको अनशनमा दाग लगाउने काम त गरेकै छ साथसाथै सर्वसाधारणले पनि समयमै उपचार नपाएर सास्ती खप्नुपरेको छ ।

अघिल्लो अनशनको उदाहरण दिँदै एक कर्मचारीले भने, ‘त्यतिबेला पनि डा। केसीको अनशनको समर्थन गर्ने नाममा निर्देशकको कार्यकक्षमा ताला लगाउन केसी समर्थक स्वास्थ्यकर्मीहरू आएका थिए । हामीले आन्दोलन गर्नुस् तर सेवा बन्द नगर्नुस्, देशभरबाट सेवा लिन आएका बिरामीहरू मर्कामा पर्छन् भन्दा उनीहरूले टेरेनन् । जबरजस्ती नै गर्न खोजे । फलतः प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीबीच झडप नै भयो ।’

त्यो त एउटा घटना भयो । त्यसरी सेवा बन्द गर्नुपर्छ भन्ने एक पक्ष र गर्नुहुँदैन भन्ने अर्को पक्षबीच धेरै पटक भनाभन र झन्डै हात हालाहाल नै भएको बुझिएको छ । पछिल्लो समय डा। केसीका समर्थकले टिचिङ अस्पतालमा दादागिरी नै जमाउन थालेको बुझिएको छ ।

पन्ध्रौँ अनशनको कुरा गरौँ । डाक्टर केसी जुम्लामा अनशन बसे । उनको स्वास्थ्यमा समस्या भएपछि जीवनरक्षार्थ नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो । टिचिङ अस्पतालमा जनताको स्वास्थ्य उपचारमा बाधा अवरोध नहोस् भनी उनलाई उपचारको लागि वीर अस्पातलमा राख्ने सरकारको तयारी थियो ।

सोही योजनाअनुसार खुलामञ्चमा हेलिकप्टर ल्यान्ड गरियो र अन्ततः वीर लाने तयारी गर्दा केसी र उनका समर्थकले नमानेपछि टिचिङमा नै ल्याइयो । खासमा, अन्यत्र केसीलाई उपचारार्थ राखिँदा टिचिङमा हैकम चलाउन र दादागिरी देखाउन मुद्दा नमिल्ने राजनीतिका तावा सेक्न नपाउने भएकैले त्यसो गरिएको देखिन्छ ।

एक प्रत्यक्षदर्शीका अनुसार, गएको शुक्रबार बिहान डा। केसीको आईसीयूमा उपचार हुँदै थियो, केसीलाई भेट्न पहिलो नम्बरमा नेतामा पूर्वस्वास्थ्य मन्त्री गगन थापा अस्पताल पुगे । उनीसँगै केसीका समर्थकहरू पनि थिए । सबैले पूर्वमन्त्री गगनलाई दाइ सम्बोधन गर्दै भोलि शनिबार अर्थात माघ ५ गते आन्दोलन दरो चर्काउनुपर्छ भन्दै कुरा गर्दै थिए ।

‘विगतका अनशनमा अस्पताल बन्द गर्नुपर्छ र गर्नुहुँदैन भन्ने पक्षबीच हात हालाहालकै स्थिति भयो तर पनि यसभन्दा अगाडि हामीले अस्पताल बन्द गर्न दिएनौँ । नैतिक समर्थन गरे पनि अस्पताल बन्द नगरे हुन्थ्यो’, भन्छन् डा। केसीको नाममा सेवा नै अवरुद्ध गर्नेहरूको दादागिरीबाट खिन्न भएका एक वरिष्ठ चिकित्सक ।

बिदा नै नलिई अनशन सुरु

देशलाई नै नीति नियममको पाठ पढाउने नैतिकवान छवि बनाएका प्रा।डा। केसीले आफू अनशन बस्दा भने नियमितः बिदा लिने गरेको चाहिँ देखिन्न । चिकित्सा क्षेत्रमा पाका वर्गमा नै पर्ने डा।केसी आफ्नो १५औँ अनशनमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै १६ अनशन सुरु गरेको १३औँ दिन पुग्दासम्म पनि बिदा नलिएको स्रोत बताउँछ ।

नियमतः एउटा सरकारी चिकित्सकले सेवामा सहभागी हुन नसक्दा बिदाको अनुमति लिनुपर्ने हुन्छ । तर डाक्टर केसीले १६औँ अनशनका यतिका दिन बितिसक्दा पनि अस्पतालमा बिदा नलिए बसेको बुझिएको छ । विगतमा अनशन बस्दा पनि उनले आधिकारिक बिदा लिने नगरेको र अनशन सकिएपछि बिदा स्वीकृत गराउने गरिएको छ । अनशन बस्दाको अवधिको उनको तलब भत्ता भने रोक्का हुने गरेको अस्पताल स्रोतले जनाएको छ ।

डा। केसी अनशन बस्दा उनले सम्हाल्दै आएको हाडजोर्नी विभागमा अन्य डाक्टरहरूले कामको जिम्मा लिने गरेका छन् ।