Swornakshar Logo

अरुण भट्ट हत्या प्रकरण स् मुख्य अभियुक्तसहित चारजना पक्राउ

७ माघ । काठमाडौं । कैलालीका अरुण भट्टको हत्यामा संलग्न मुख्य अभियुक्त विनोद ऐरसहित चारजना पक्राउ परेका छन् ।

सोमबार बिहान १ बजे हत्यामा संलग्नहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभूषण तिम्सिनाले बताए ।

माघ ५ गते कैलालीको गोदावरी नगरपालिका–२ पूर्व रोडमा आयोजित सुदुरपश्चिम प्रादेशिक महोत्सव हेरेर फर्कने क्रममा धारिलो हतियार प्रयोग गरी भट्टको हत्या गरिएको थियो ।

एसपी तिम्सिनाका अनुसार, हत्यामा संलग्न मुख्य अभियुक्त विनोद ऐर, सहायक अभियुक्तहरु डेबिट सिंह ऐर, मञ्जु चौधरी र लोकेश खत्रीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएएको छ ।

सुदुरपश्चिम प्रादेशिक महोत्सव समाप्त हुने बित्तिकै महोत्सव स्थलदेखि बाहिर पट्टि पूर्व–पश्चिम राजमार्गको अत्तरिया चिसापानी सडकखण्डमा पर्ने सशस्त्र प्रहरी बलको बाहिनी नजिकै विनोद ऐरको समूहले आक्रमण गर्दा अरुण भट्ट गम्भिर घाइते भएका थिए ।

सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । घटनामा भट्टका साथीहरु हरि राई र राजेश नेपाली घाइते भएका थिए ।

विगतको रिसिईबीको कुरा निकालेर भट्ट र ऐर समूहको बीचमा वाद–विवाद भएको र सोही क्रममा धारिलो हतियार प्रयोग गरेर भट्टको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मुख्य अभियुक्त विनोद ऐरले भट्टलाई मार्नका लागि धारिलो हतियार प्रयोग गरेका थिए । त्यस्तै हत्यामा सहायक भूमिकामा देखिएका डेबिट ऐरले मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखेर भगाउने भूमिका निर्वाह गरेका थिए ।

अर्की सहायक अभियुक्त मञ्जु चौधरी र लोकेश खत्रीले मुख्य अभियुक्तहरुलाई आफ्नो डेरा कोठामा लुकाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथी कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।