Swornakshar Logo

बाँकेमा हत्या आरोपीलाई समात्न प्रहरीद्वारा गोली प्रहार

२ माघ । काठमाडौं । बाँके र बर्दियाको सीमा क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । प्रहरीको खोजीको सूचीमा रहेका युवराज गिरीलाई पिछा गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ । गिरी र भरत शाहीले केही समयअघि बाँके कोहलपुरका दिपक सिंहको खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि उनी दुवैजना फरार थिए । शाहीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो भने गिरीलाई पक्राउ गर्न जाने क्रममा भागेपछि गोली चलाउनुपरेको बाँके प्रहरीले जनाएको छ । बाँकेका डीएसपी रमेश सिंहको कमान्डमा रहेको प्रहरी टोलीले गोली चलाएको थियो ।
प्रहरीका अनुसार गिरी र शाहीले सिंहलाई प्रहरीको असई बनाइदिन्छु भन्दै डेढलाख रकम लिएका थिए । असई बनाउन नसकेपछि रकम फिर्ता माग्ने क्रममा विवाद हुँदा खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ ।