Swornakshar Logo

सिरहा सुन तस्करी प्रकरण वडा अध्यक्ष मुख्य नाइके

२८ पुस । सिरहा । सिरहा सशस्त्र प्रहरीले अवैध सुन तस्करी गरेको आरोपमा लहान नगरपालिकाका एक जना वडा अध्यक्ष सहित अन्य ६ जनालाई पक्राउ गरेको छ ।
सिरहा सदरमुकामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरिएका तीन जनालाई गणमा सुनसहित शनिबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको एक घण्टा नबित्दै थप तीन जनालाई पनि पक्राउ गरेको दावी गरेको छ ।

सशस्त्र प्रहरीको सिरहा गणले पक्राउ गरिएका तीनजनाको सूचनाको आधारमा थप तीन जनालाई मिर्चैयाबाट पक्राउ गरेको गणका प्रहरी नायव उपरीक्षक खेमनारायण अधिकारीले बताए ।

पूर्वपश्चिम सडक अन्तर्गत गोलबजार नगरपालिका–९ घुर्मी खोला नजिकबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले शनिबार बिहान २ बजेतिर ६ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका डिआईजी प्रवीणकुमार श्रेष्ठले बताए । डिआइजी श्रेष्ठका अनुसार ६ जनालाई एउटै स्कर्पियोबाट पक्राउ गरिएको भएपनि तीन जनासँग मात्र सुन बरामद भएकाले तीन जनालाई सार्वजनिक नगरिएको हो ।

सिरहास्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार बिहान २ बजेतिर काठमाडौंबाट लहानतर्फ आउँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियोबाट अवैध सुनसहित ६ जनालाई पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरीले पक्राउ गरेकाहरुमा लहान नगरपालिका १९ सोनमती मझौराका निर्वाचित वडाध्यक्ष ४२ वर्षीय मोहमद हकिम समेत रहेका छन् । प्रहरीका अनुसार वडाध्यक्ष हकिम मुख्य नाइकेको भूमिकामा छन् ।

सशस्त्र प्रहरीका अनुसार वडाध्यक्ष हकिमसहित सोनमती मझौराकै २४ वर्षीय मोहमद रहमान र सप्तरीको खड्क नगरपालिका ३ बनरझुला घर भएका १८ वर्षीय मोहमद अफ्रोज समेत पक्राउ परेका छन् ।

उनीहरु पक्राउ परेलगत्तै सशस्त्र प्रहरीले खानतलासीको क्रममा लहान १९ घर भएका स्कर्पियो चालक ३२ वर्षीय मोहमद रियाज राईनको साथबाट चार थान बाला र तीन वटा काँचो सुन, रियाजका छिमेकी २८ वर्षीय मोहमद अमिरुलको साथबाट एउटा बाला र ४५ वर्षीय कैयुम राईनको साथबाट एउटा बाला पनि बरामद गरेको जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले एक केजी सात सय ५७ ग्राम सात सय २० मिलीग्राम सुनसहित पक्राउ गरिएको ६ जनालाई थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको डिआइजी श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट नगद ३४ हजार पाँच सय रुपैयाँ र ६ थान मोवाइल सेट बरामद भएको सशस्त्र प्रहरीको सिरहा गणले जनाएको छ ।