Swornakshar Logo

गुण्डा नाईके समिर बस्नेतकी श्रीमति पाँचलाख धरौटीमा रिहा

२० मंसिर । काठमाडौं । गुण्डा नाईके समिरमान सिंह बस्नेतकी श्रीमति माया शेरचन धरौटीमा छुटेकी छिन् । बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी पाँच लाख धरौटीमा तिरेर छुटेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले बताए ।

काठमाडौंको गौरिघाटस्थित दिव्यश्वरी पार्टी प्यालेसमा दावा लामामाथि भएको गोली प्रहार र रुपन्देहीका दुर्गा तिवारी हत्यामा मायाले हतियार व्यवस्थापन गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

निर्माण व्यवसायीका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा संलग्न समिरमान बस्नेत समूहका सुटर अमर राना, लोप्साङ लामा र रोशन बुढाथोकीले बयानको क्रममा मायाको नाम पोलेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो ।

मायाको सहयोगमा राजधानीमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेका बेला गौचन हत्या योजनामा संलग्न रहेको आरोपमा लोप्साङ, रोशन र अमरलाई महानगरीय अपराध महाशाखाको टोलीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको थियो ।

दावा लामामाथि भएको गोली प्रहार र तिवारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मायालाई गत कात्तिक १९ गते महाशाखाले राजधानीको ठूलो भर्‍याङबाट पक्राउ गरेको थियो ।

महाशाखाले पक्राउ गरेको राना, लोप्साङ र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा मायालाई पक्राउ गरिएको हो ।