Swornakshar Logo

दृष्टिवीहिन विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरे शंकर भण्डारीले

२० मंसिर । अछाम । सदरमुकामस्थित शोडषा माविका पूर्व विद्यार्थी शंकर भण्डारीले फरक र प्रभावकारी शैलीमा आफ्नो जन्मदिन मनाएका छन् ।

मंसिर १९ गते बुधबारका दिन ३८ बर्ष उमेर लागेका नेकपाका सुदूरपश्चिम प्रदेश सदस्य भण्डारीले आफू पढेको विद्यालय श्री शोडषा मावि मंगलसैनका दुई जना दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । उनले दृष्टिबिहीन, आर्थिक अवस्था कमजोर भएका र पढाइमा तिक्ष्ण बुद्धि भएका कक्षा १० मा अध्ययनरत बिक्रम बि.क.र कक्षा ९ मा अध्ययन गर्ने बम बहादुर बि.क.लाई सहयोग प्रदान गरेका हुन् । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक देवेन्द्र दुबे र शिक्षक मातृकाप्रसाद भण्डारीले विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका थिए ।

फजुल खर्च गरी जन्मदिन मनाउनुभन्दा यस अवसरमा केही योगदान गर्न सके उपयुक्त हुने सन्देशसहित उनले शैक्षिक सामग्री वितरण गरेको बताए । वितरित शैक्षिक सामग्रीमा कापी, कलम, झोला, ज्यामिती बक्स लगायत सामग्रीहरु रहेका छन् ।

हाल काठमाडौंमा रहेका भण्डारीले आफू पढेको विद्यालयलाई सहयोग गर्ने उद्देश्यका साथ पूर्वविद्यार्थी मञ्च गठनको अभियान समेत थालेका छन् । अभियानअन्तर्गत यही मंसिर २२ गते शनिबारका दिन काठमाडौंको मीनभवन क्याम्पसमा पूर्वविद्यार्थीको भेला समेत बोलाइएको छ ।