Swornakshar Logo

प्रदेश नं ३ ले विद्युतीय बस सञ्चालन गर्ने

१९ मंसिर । मकवानपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उनले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने बताए ।

सरकारले विसं २०८५ भित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न मुख्यमन्त्री पौडेलले चालू आवमा साझाबाटै शेयर खरिद गर्ने प्रतिवद्धता व्यक्त गरे ।

“हामीले विद्युतीय बस सञ्चालन गर्ने नीति अघि सारेर केन्द्र सरकारलाई झक्झक्याएका छौं,” उनले भने, “संघीय राजधानी काठमाडौंसँग प्रदेश सरकारको उपस्थिति देखाउन विद्युतीय सवारी सेवा सञ्चालनमा साझासँग सहकार्य गर्न तयार छौं ।”