Swornakshar Logo

विश्व एड्स दिवसः नेपालमा झन्डै ३१ हजार ब्यक्ति संक्रमित

१५ मंसिर । काठमाडौं । ‘एचआईभीको जाँच गराऔं,आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नाराका साथ ३१ औं विश्व एड्स दिवस नेपालमा पनि शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नेपालमा झन्डै ३१ हजार व्यक्तिमा एचआईभी संक्रमण रहेको अनुमान छ । नेपालमा १९ हजार पुरुष र १२ हजार महिलामा एचआईभी संक्रमण रहेको अनुमान गरिएको छ ।

तीमध्ये १६ हजार ४ सय २८ जना उपचारमा रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।

सरकारले सन् २०२० सम्ममा ९० प्रतिशत व्यक्तिलाई उपचारको दायरामा ल्याउने र शरीरमा भाइरसको भार न्यून बनाउने उद्देश्य लिएको केन्द्रले जनाएको छ ।

विश्वव्यापी रुपमा हेर्ने हो भने विगत सात वर्षको अबधिमा यसको संक्रमण १६ प्रतिशतले घटेको छ । नेपालमा भने ६१ प्रतिशतले घटेको र ६३ प्रतिशत बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको केन्द्रको तथ्यांक छ ।

असुरक्षित यौन सम्र्पक गर्ने, सुईको प्रयोग गरी लागूऔषध सेवन गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशिने र जेलका कैदीहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेका छन् ।

लामो समयसम्म ज्वरो आउने, खोकी लाग्नु, बारम्बार झाडापखाला लाग्ने, क्षयरोग जस्ता लक्षणहरु देखापर्छ ।