Swornakshar Logo

भाइबहिनीको प्रेमको प्रतीक ‘सामा चकेवा पर्व’

हिमांशु चौधरी
जनकपुरधाम । २३ कार्तिक । भाइबहिनीको प्रेमको प्रतीक ‘सामा चकेवा पर्व’ सन्दर्भमा आजदेखि सामा चकेवा निर्माणका लागि माटो व्यवस्थापन कार्य शुरू भएको छ ।

सामा चकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । कात्तिक शुक्लद्वितीयाका दिन दिदीबहिनीले सामा चकेवा बनाउने माटो व्यवस्था गरी छठ पर्वको खरना वा परनादेखि पात्रहरूको आकृति बनाउन शुरू गरिन्छ ।

मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्र माटोका पुतलाहरू हुन्छन् ।

के छ सामा चकेवामा ?

सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् ।

छठको खरना वा परनादेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ ।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ ।

यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् ।

सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन्, कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीतिसंवाद बोल्छन् ।

कथा तत्व

मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ ।

स्कन्द पुराणमा सामा चकेवाको कथा सप्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा (सामा) र चकेवा पतिपत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा बस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णकहाँ गई चुक्ली लगाए– श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे १ कृष्ण रिसाएर श्राप दिई चरा बनाइ दिए । भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुबासँग अनुनयविनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा) को पूर्व रूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ ।

चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चरा हुन पुगे –चकेवा । चरा भएकी पत्नी सामासँग बस्न थाले । त्यसै क्रममा उनीहरूको बास रहेको वृन्दावनमा विरोधीहरूले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानव रूपमा अवतरण भए ।

केही गीत

यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर, जङ्गल – जीवनकै सिद्धान्तअनुरूप वृन्दावन जङ्गल सम्बन्धको अद्भूत समन्वय रूप हो ।

समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिलाहरू सूत्रधारका रूपमा जीवनका गाथाहरू लोक धुनको आधारमा गाउँछिन्, जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ ।

महिलाहरू जब आ–आफ्नो घरबाट डालामा मूर्तिहरू राखी सामा खेल्न चौरतिर निस्किन्छन्, तब उनी गाउँछिन् –

डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
फलाँ भइया लेल डाला छीन,
सुनु गे राम सजनी।।।।।।।।।।।।।।।

भाइ र उनका परिवारजनको मङगल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ–
सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा
लागि गेल पनमा दुकान।।।।।।।।।।।।।।।।।।। ।

जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट ९जुट० मा दाहिने आगो लगाउँदै निभाउँदै महिलाहरू गाउँछिन् –

धान –धान–धान, भइया कोठी धान
चुगला कोठी भुस्सा ।।।।।।।

प्रतीकात्मक रूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्ने काम गरिएको छ ।

सम्पन्नतासँगै भाइ वीर पनि छन्, योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्यो, निभाउने कोही छैन । बहिनीलाई भाइमाथि विश्वास छ, उनी मात्र निभाउन सक्तछ भनेर –

वृन्दावनमे आगि लागै
कोइ ने मिझावे हे
हमर भैया फलना भैया
दौडि –दौडि मिझाबे हे।।।।।।।।।।।।
विसर्जनको बेलाको यो आमन्त्रण गीत–
सामचको , सामचको अइह हे, अइह हे
जोतल खेतमे बइसिह हे, बइसिह हे।।।।।।।।।।।।।।।।। ।

सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आइ बस्नु हे भन्दै सबै माटोका पात्रहरूको विसर्जन गरिने चलन रहेको छ ।