Swornakshar Logo

सरकारलाई झलनाथको सुझावः युगले सुम्पिएको उत्तरदायित्व पूरा गर्न कामको गति बढाउनुहोस्

२२ कार्तिक ।

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् ।
बिहीबार देउसीभैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालको यस्तो भनाई आएको हो ।
मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे ।
‘विकास र समृद्धि सम्भव छ । देश अहिले ऐतिहाँसिक चरणमा प्रवेश गरेको छ । देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पारत गरेर यहाँसम्म आएका छौं । नयाँ संविधान बनायौं । संविधानबमोजिम निर्वाचन गर्यौं । अहिले तीन तहको सरकार निर्माण गरेका छौं । तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो । आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो ।’
समृद्धिका पाईलाहरु भर्खर भर्खरै चल्न थालेको र ती पाइलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाई छ । ‘अझै गति थप्न जरुरी छ । अझै प्रभावकारिता थप्न जरुरी छ । तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं ।’
अहिले देश र सम्पूर्ण जनताले चाँडोभन्दा चाँडो विकास र समृद्ध चाहेको सुनाउँदै उनले भने,सिङ्गो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस् भन्ने चाहन्छ ।
जनचाहनाअनुसार काम गर्न र समृद्धि हाँसिल गर्नको लागि यो सरकारले अझै वेगका साथ काम गर्नुपर्छ । अहिलेको गतिले पुग्दैन् । त्यो भन्दा तिव्र गतिले अघि बढ्नुपर्छ । अझै तिव्रता र प्रभावकारिताका साथ काम गर्न सकियो भनेमात्रै युगले यो सरकारलाई बोकाएको उत्तरदायित्व पूरा गर्न सकिन्छ ।
अहिले नेकपाभित्र अत्यन्तै नीतिनिष्ठ, सिद्धान्तनिष्ठ, विचारनिष्ठ, लक्ष्यनिष्ठ एकताको आवश्यकत्ता रहेको बताए । उनले भने,‘नेकपाभित्र मात्रै होइन, प्रतिपक्षी दल र सम्पूर्ण राजनीतिक शक्तिहरुकाबीचमा बृहत्त एकताको आवश्यकत्ता छ । सिँगो राष्ट्रमा एकताको आवश्यकत्ता छ । एकतावद्ध भएर गयौं भनेमात्रै यो देश विकास हुन्छ । समृद्ध हुन्छ । पहिलो आवश्यकत्तापनि एकता हो । दोस्रो आवश्यकत्ता पनि एकता हो । र, तेस्रो आवश्यकत्ता पनि एकता हो ।’
कम्युनिष्ट पार्टीको जीउ भनेको नै नीति र विधि भएको बताउँदै उनले यसलाई जसले तलमाथि गर्छ उसको ज्यान खतरामा पर्ने उनले बताए । खनालले नीति र विधिअनुसार पार्टी चल्नुपर्नेमा जोड दिए । उनले भने ‘एकता गर्ने कुराहरुमा ढिलाई भैरहेको छ । ६ महिनाअघि हामीले एकताको घोषणा गरेको हो । तर, ६ महिना पार हुँदापनि अझै एकताको प्रक्रिया टुँग्गिएको छैन् । यो ढिला भएको छ । चाँडोभन्दा चाँडो एकतावद्ध गरेर अघि बढ्नुपर्छ ।’