Swornakshar Logo

कुन नेताले तिहार कसरी मनाउँदै छन्

२२ कार्तिक ।

काठमाडौं । एक बर्षमा एक पटक आउने नेपालीहरुको दोस्रो महान चाड तिहार विषेश गरेर दाजु भाई र दिदीबहिनीबीच मनाईन्छ । यो चाडवाडमा नेपाली नेताहरुपनि रमाउँछन् र मनाउँछन् ।

केपी शर्मा ओली , प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भोली दुई जना दिदिबहिनी संग भाइटिका लगाउँनेछन् । जेठी दिदि विष्णुमाया ढकाल चितवनमा बस्छन् भने बहिनी कमलादेवी कोइराला काँकडभिटामा बस्छन । उनीहरुले प्रधानमन्त्रीलाई शुक्रबार बालुवाटारमा टिका लगाई दिनेछन् ।

प्रचण्ड , अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ को भने यो बर्ष तिहार अथवा भाइ टिका छैन । गत बर्ष उनको छोरा प्रकाश दाहलको निधन भएको थियो । छोराको निधन भएको एक बर्ष पुगेको छ । तर पनि यो बर्ष अध्यक्ष प्रचण्डको तिहारमा टिका छैन ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने ‘अध्यक्षको यो बर्ष तिहारमा टिका छैन । त्यहि भएर टिका लगाउनु हुँदैन । र त्यस्तो टिकाको दिन बिशेष राजनीतिक भेटघाट पनि छैन ।’

शेरबहादुर देउवा , सभापति नेपाली काँग्रेस

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले टिका बहिनी मिना पाण्डे र गोमा शाहको हातबाट लगाउने छन् । बहिनी गोमा शाहले देउवालाई उनको निवास बुढानिलकण्ठमा नै टिका लगाई दिने र अर्को धर्म बहिनी पाण्डेले भने आफ्नै निवास बत्तिसपुतलीमा टिका लगाई दिने देउवाका स्वीकय सचिव भानु देउवाले बताए ।

माधवकुमार नेपाल , बरिष्ठ नेता नेकपा

नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल भने यो बर्ष टिका लगाउन नपाउने भएका छन् । नेता नेपालका दुई जना दिदी र बहिनीको जुठो परेकाले टिका लगाउन नपाउने भएका उनका निजी सचिव नितेश पौडेलले बताए ।
पौडेलले भने‘नेपाल ज्युको घरमा त ठिकै छ तर उहाँका एक जना दिदी बशुन्धरा पोख्रेल र बहिनी इन्दीरा न्यौपानेको घरमा जुठो परेकाले टिका लगाउन पाउनु हुँदैन ।’त्यसै गरि नेपालका एक जना दिदी अमेरिकामा बस्दै आउनु भएको छ । दिदी कालिका भण्डारी अमेरिकाबाट नआउने भएकाले टिका लगाउनु हुँदैन।

झलनाथ खनाल , नेता नेकपा

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने भोली टिकाको साइतमा नै एक जना दिदी र एक जना बहिनीको हातबाट टिका लगाउने छन् ।

नेता खनाल भन्दा जेठो दिदी यशोधा देवी आचार्य भक्तपुरमा बस्ने भएकाले सबै जना त्यहि जम्मा भएर टिका लगाउने गरेको छ । बहिनी कुसुम खनाल पनि भक्तपुर दिदीको घरमा आएर दाई झलनाथ खनाललाई टिका र माला लगाई दिने छन् ।
खनालले एक जना दिदी र एक जना बहिनीको हातबाट भोली टिकोको साइतमा नै भक्तपुर गएर टिका लगाउने उहाँका स्वकीय सचिव कृष्ण भट्रराईले बताए ।

नारायणकाजी श्रेष्ठ , प्रवक्ता नेकपा

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ सधै झै यो बर्ष पनि साहिलो बुबाबो छोरी विश्वशान्ति श्रेष्ठको हातबाट टिका र माला लगाउने छन् । श्रेष्ठले भने‘मेरो आफ्नै दिदी बहिनी त छैनन् । तर म सधै साहिला बुबाको छोरीका्े हातबाट टिका लगाउने गर्छु । भोली पनि म तीनै बहिनीको हातबाट काठमाडौंमा टिका लगाउने छु ।’

वामदेव गौतम , नेता नेकपा

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले पनि भोली टिका र माला लगाउने छन् । गौतमका ५ जना दिदी बहिनी छन् । दुई जना बहिनी माया केसी र शान्ति ज्ञावली काठमाडौंमा बस्छन् । ३ जना भने काठमाडौं बाहिर बस्छन् । एक जना दिदी बाटीका आचार्य दाङ बस्छन् । बहिनी सरस्वती आचार्य नेपालगंन्ज बस्छन् । बहिनी कृष्णमाया पोखे्रल धनगढी बस्छन् ।

पाँच जना दिदी बहिनी नै ललितपुर स्थित भैसीपाटी घरमा आएर गौतमलाई टिकालगाउने गौतमको धर्मपत्नी तुलसी थापाले बताइन । उनले भनिन ‘अहिलेसम्म सबै जना दिदी बहिनी आउने भन्ने भएको छ । भोली सबै जना दिदी बहिनी जम्मा भएर टिकालगाउनु हुन्छ ।’

नन्दबहादुर पुन , उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनको टिका काठमाडौं नै हुने छ । उनको दुई दिदी रोल्पामा नै बस्छन् । काठमाडौं आए देखि नै बाग्लुङ स्थायी घर भएकी शोभा थापालाई धर्मबहिनी बनाएर हरेक बर्ष उनकै हातबाट टिका लगाउने गरेको उहाँकी जेठो बुहारी जुन घर्तिमगरले बताइन ।उनले भनिन‘रोल्पाबाट दिदीहरु आउनु हुन्न तर यहाँ नै धर्म बहिनीको हातबाट टिका लगाउनु हुनेछ । टिका उपराष्ट्रपतिको निवासमा लगाउने छन् ।’

ईश्वर पोख्रेल , रक्षा मन्त्री

नेकपाका सचिवालय सदस्य तथा नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोख्रेले आफ्नो दिदी सपना पौडेलको हातबाट टिका लगाउने छन् । दिदी सपना ललितपुरको सातदोबाटोमा बस्दै आउनु भएको छ ।
मन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले भने‘मन्त्री ज्यु भोली आफ्नो दिदी सपना पौडृेलको हातबाट टिका लगाउनु हुने छ । मन्त्री ज्यु नै दिदीको घर सातोबाटो जानु हुन्छ ।’

पोख्रेलले भूमिगत समयमा पनि संभव भएसम्म तिहारमा दिदीको हातबाट टिका लगाउने गरेका थिए । केसीले भने‘नेता मन्त्री ज्यु भूमिगत सयमा पनि संभव भएसम्म टिकालगाउन जाने गरेको कुरा गर्नु हुन्छ ।’