Swornakshar Logo

महासमिति बैठक सार्ने कांग्रेसको निर्णय, गच्छादार उपसभापति

२० कार्तिक । काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक मंसीर अन्तिम हप्ता हुने भएको छ । केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठक मंसीर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

आजबसेको बैठकले नेता बिजयकुमार गच्छादारलाई उपसभापति मनोनयन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।
तत्कालिन मधेसी जनअधिकार फोरमका लोकतान्त्रिकसंग पार्टी एकता गर्ने समयमा भएको सहमति अनुसार नै गच्छादारलाई उपसभापति मनोनयन गरिएको जनाईएको छ ।
पार्टीको तल्ला समितिहरुको एकता र नेताहरुको कार्यविभाजन मिलाउनका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
समिति सदस्यहरु पछि चयन हुनेछन ।
पार्टीको बिधान संशोधन मस्यौदा आगामी केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ ।
बिधान मस्यौदा समितिको सोमबार बसेको बैठकमा विवाद भएकाले मस्यौदा पेश हुन नसकेको हो ।

यसैबीच, असन्तुष्ट समूहले महाधिबेशन सार्ने र गच्छादारलाई उपसभापति मनोनयन गर्ने प्रक्रियाको बिरोध गरेको छ ।
नेता अर्जुननरसिंह केसीले महासमिति बैठक अब नसर्ने ग्यारेन्टी गर्न नेतृत्वसंग माग गरे ।
उनले गच्छादारले अत्यन्तै अप्ठ्यारो परिस्थितिमा कांग्रेसलाई साथ दिएको र उपसभापतिको दाबेदार भए पनि गलत तरिकाले मनोनय भएको भन्दै आपत्ति जनाए ।