Swornakshar Logo

समिरमानकी श्रीमती पक्राउ प्रकरणः तीन गोलीकाण्डमा हतियार दिएको दाबी

१८कार्तिक ।
काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।

यसअघि प्रहरीले पक्राउ गरेका बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा शेरचनलाई पक्राउ गरिएको हो ।

महाशाखाको विशेष प्रहरी टोलीले शेरचनलाई आइतबार स्वयम्भुको ठूलो भर्‍याङबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए।

यसअघि पक्राउ परेका ३ जनाले मायाले नै आफूहरुलाई हतियार दिएको बयान दिएका समातेको बुझिएको छ ।

प्रहरी स्रोत भन्छ,‘बुटवलका युवा संघका नेता दुर्गा तिवारी, गौचन र गुन्डा नाइके दावा लामामाथि भएको गोली प्रहारको घटनामा प्रयोग भएको पेस्तोल मायाले उपलब्ध गराएको बयानपछि उनलाई पक्राउ गरेका हौं ।’
तीन वटै गोलीकाण्डमा ९ एमएमको पेस्तोल प्रयोग भएको प्रहरी स्रोत बताउछ । उनीहरुले बयानमा घटनामा प्रयोग भएको पेस्तोल दरबारको भएको दाबी गरेका थिए ।

प्रहरीले त्यो पेस्तोल दरबारको हो या होइन भन्ने विषय यकिन गरिसकेको छैन ।

उता, सुटरहरू फरार रहेका वेलामा बस्न्यातले विभिन्न व्यक्तिबाट उनीहरूसम्म रकम पठाउने गरेको यसअघि नै खुलासा भइसकेको छ । जुन काममा मायाले समिरलार्इ साथ दिएको प्रहरीको दाबी छ ।

यसअघि नख्खु कारागारमा रहेका समिरमान सिंह बस्नेतलाई मुस्ताङ कारागारमा सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् । तर, प्रहरीले भने सिंहले अर्को हाइप्रोफाइल हत्या योजना बनाइरहेकाले सरूवा गरिएको दाबी गरेको थियो ।

यद्यपि, बस्न्यात परिवारले षडयन्त्रपूर्वक समिरलार्इ त्यहाँ लगेको भन्दै सर्वोच्च अदालतमा समेत रिट हालेको थियो । र, हाल समिरलार्इ केन्द्रीय कारागारको गोलघरमा राखिएको छ ।