Swornakshar Logo

वाइडबडी विमान खरिदमा भएको अनियमितता छानबिन गर्न माग

४ मंसिर । काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा अनियमितता भएको दावी गर्दै छानबिन गर्न माग गरेको छ। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दावी गर्दै छानबिन गर्न संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा माग गरेका हुन्।

मंगलबार बसेको समितिको बैठकमा उनले ५० औं वर्षसम्म मुलुकलाई आर्थिक भार पर्नेगरी विमान खरिदमा अनियमितता भएको सबै सञ्चार माध्यामले उल्लेख गरेको स्मरण गराउँदै त्यसलाई छानबिनको दायरामा ल्याउन आफ्नो पार्टीको जोडदार माग गरेको पनि समितिलाई जानकारी गराए।
कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गरेको नेता रिजालको भनाई छ। नेता रिजालले अनियमितताको आरोप लागेको सो विषयमा समिति चुप लागेर बस्न नहुने धारणासमेत राखे।

निगमले नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौं प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएर दुईवटा वाइबडी विमान खरिद गरेको थियो। यसैबीच, सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग छलफल गर्ने भएको छ।
समितिका सभापति भरतकुमार शाहले सो विमान खरिदका सम्बन्धमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई आगामी आइतबार समितिमा बोलाउने निर्णय गरिएको जानकारी दिएका हुन्।

समितिको मंगलबारको बैठकमा कांग्रेस सांसद डा. रिजालले सो सम्बन्धमा छलफल गर्न जोडदार माग गरेपछि समितिले मन्त्री अधिकारीलाई छलफलका लागि आइतबार समितिको बैठकमा बोलाएको हो। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव र निगम पदाधिकारीलाई पनि बोलाउने समितिले जनाएको छ।

समितिका सभापति शाहले व्यवस्थापन पार्टनर खोजेर मात्रै विमान खरिद गर्न तत्कालीन सार्वजनिक लेखा समितिले दिएको निर्देशनविपरीत काम गरेको भन्दै निगमको चर्को आलोचना पनि गर्नु भएको थियो। समितिको मंगलबारको बैठकमा चिनीलगायतका दैनिक उपभोग्य बस्तुको बजार मूल्य नियन्त्रणसम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरिएको थियो।