Swornakshar Logo

बारामा तनावः जनप्रतिनिधि नै असुरक्षित भएपछि कार्यालय नै सार्ने तयारी

११ कार्तिक ।
काठमाडौं । असुरक्षित भएको जनाउँदै बाराको पचरौता नगरपालिकाका जनप्रतिनिधिले कार्यालय सार्ने निर्णय गरेका छन् । शुक्रबार बसेको कार्यपालिका बोर्डको बैठकले कार्यालय सार्ने निर्णय गरेको हो ।

स्थानीय बासिन्दाबाटै असुरक्षा महसुस भएपछि नगरपालिका कार्यालय सार्ने निर्णय गरिएको मेयर रमेशकुमार यादवले बताए ।

कार्यालय सञ्चालन गर्न नै समस्या देखिएपछि सार्ने निर्णय गर्नुपरेको मेयर यादवको भनाइ छ । ‘स्थानीय बासिन्दाबाट थ्रेट आयो, जतिवेला पनि आक्रमण हुन सक्ने भएपछि कार्यालय सार्ने निर्णयमा पुगेका हौँ,’ उनले भने ।

प्रदेश २ सरकारको १५ शय्याको अस्पताल बनाउने निर्णयका कारण नगरपालिका कार्यालय सार्ने निर्णयसम्म पुगिएको हो ।

प्रदेश सरकारले पचरौता नगपालिकामा १५ शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो । तर, स्थान किटान गरेको थिएन । बेनौली र पकडियामध्ये एक स्थानमा बनाउने निर्णय गरेको थियो ।

त्यसपछि ५ कात्तिकमा पकडियाका बासिन्दा आफ्नो गाउँमा अस्पताल बनाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन नगरपालिका कार्यालय पुगेका थिए ।

तर, नगरपालिका कार्यालय रहेको बेनौलीका बासिन्दाले पकडियाका बासिन्दालाई ज्ञापनपत्र समेत बुझाउन दिएनन् ।

हातहातमा लाठी लिएर आएका बेनौलीका बासिन्दाले उनीहरूलाई कुटपिट गरे ।

सशस्त्र र नेपाल प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिएको थियो । झडपमा तीनजना गम्भीर घाइते भएका थिए ।पचरौता नगरपालिकाले शुक्रबार निर्णय गरे पनि शनिबार भने सार्वजनिक बिदाका कारण कार्यालय बन्द रह्यो ।

आइतबार सार्ने तयारी गरिएको जनाइएको छ । बनौलीका बासिन्दा भने कार्यालय सार्न नदिने सुरमा छन् ।
आजको नयाँ पत्रिकामाबाट ।