Swornakshar Logo

सुनकोशीमा बस खस्यो, एकको शव भेटियो

२६ असोज ।

काठमाडौं । काठमाडौं देखी बर्दिबास जाँदै गरेको युात्रु बाहक बस सुनकोशी नदीमा खसेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुवाहक बस खसेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय पुगिसकेका छन् । स्थानीयका अनुसार १ जनाको शव देखिएपनि कतिको मृत्यु भएको हो भन्ने एकिन हुन सकेको छैन ।

गाडीको पाटपुर्जा टुक्रा टुक्रा भएकोले गाडी नम्बर कति हो भन्ने पत्ता लाग्न नसकेको प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । बसमा कति यात्रु सवार थिए र कति हताहती भन्ने बारे पूर्ण विवरण आउन बाँकी छ ।

प्रहरीका अुनसार १ जनाको शव निकालिएको छ भने पाँच जना घाइतेको उद्धार गरी उपचारका लागि सिन्धुली सदरमुकाम लगिएको छ ।

उता नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् ।

गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।

गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।