Swornakshar Logo

एसिड आक्रमणमा परेकी वसन्तीको उपचार निःशुल्क गर्न दाहालको निर्देशन

१३ असोज ।
भरतपुर । भरतपुर महानगरपालिकी मेयर रेणु दाहालले एसिड आक्रमणमा परेकी कावासोती डण्डाकी वसन्ती परियारको उपचार खर्च निःशुल्क गर्न निर्देशन दिएकी छन् ।
दाहालको निर्देशनपछि भरतपुर अस्पताल व्यवस्थापनले भरतपुर अस्पतालमा उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जनाएको छ ।

उनले वसन्तीको उपचारमा चासो दिँदै भनिन्, ‘घाइते वसन्तीको उपचारमा कुनै कमी हुन दिनेछैनौँ ।’ उनले शनिबार भरतपुर अस्पतालमा पुगेर वसन्तीको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् ।

दाहालसँग पीडित वसन्तीका परिवारले आर्थिक अवस्था कमजोर भएको हुनाले उपचारमा सहयोग गरिदिन आग्रह गरेका थिए । परिवारको आग्रहपछि महानगर प्रमुख दाहालले भरतपुर अस्पताललाई वसन्तीको उपचार निःशुल्क रुपमा गरिदिन निर्देशन दिएकी हुन् ।

बिरामीलाई भेटेपछि प्रमुख दाहालले उच्च मनोबल बनाउन आग्रह गरेकी थिइन् । उनले उपचारमा भइरहेको प्रगततिबारे संलग्न चिकित्सकबाट जानकारी लिएकी थिइन् । उनले थप उपचारका लागि अन्यत्र लैजानुपर्ने भए आवश्यक समन्वय गर्न समेत निर्देशन दिइन् । एसिड प्रहारजस्तो अमानवीय अपराध गर्नेलाइ हदैसम्मको कारबाही गर्नसमेत उनले सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन् ।

महानगर प्रमुख दाहालसँग प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, अस्पतालका मेसु डा. कृष्ण पौडेल, प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, सामाजिक अभियन्ता मिना खरेल भरतपुर अस्पताल पुगेका थिए ।

गत सोमबार बजारबाट घर फर्कदै गरेकी वसन्तीलाई कावासोती डण्डा हरमासी टोलमा छिमेकी बिमल श्रीपालीले एसिड खनाएका थिए । श्रीपालीलाई कावासोती प्रहरी नियन्त्रणमा लिएको छ ।