Bagmati Samachar Logo

ओलीले एमाले बैठकमा ल्याए नेतृत्व नछोड्ने प्रतिवेदन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहितको राजनीतिक प्रतिवेदन पार्टीको केन्द्रीय किमिटी बैठकमा पेश गरेका छन् ।

उनले पार्टी पनुर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोसिस गर्दै उनले यसलाई लहडको विषय भनेका छन् ।
पार्टी कस्तो अवस्थामा पुनर्गठन गर्ने र नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।

उनले राष्ट्रिय राजनीतिदेखि पार्टी भित्रका समस्या र आगामी कार्यभार सम्मका धारणा समेटेर ल्याएको प्रतिवेदनमा उनले इतिहासमा पार्टी कसरी पुनर्गठन भएका थिए भन्ने दृष्टान्त समेत पेश गरेका छन् । केशरजंग रायमाझीको दरबार प्रवेश देखि झापा आन्दोलन देखि २०७५ साल सम्म विगतका तीनवटा पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याएर उनले अहिलेको अवस्था त्यस्तो त्यस्तो नभएको उल्लेख गरेका छन् ।

उनले प्रतिवेदनमा भनेका छन् , ‘के हो पुनर्गठन ? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन ।’

ओलीका अनुसार तीन वटा पुनर्गठन यस्ता थिए

पहिलो : पार्टीको महासचिव रहेका केशरजंग रायमाझी अगाडिदेखि नै दक्षिणपन्थी र षडयन्त्रकारी त छँदै थिए, पछिल्लो समय उनको दक्षिणपन्थता अझ खुलस्त रुपमा प्रकट हुँदै आयो। खासगरी २०१७ सालमा राजा महेन्द्रले फौजी “कू” गरेर लोकतन्त्र अपहरण गरेपछि उनले त्यस प्रतिगामी कदमलाई स्वागत गरे र पञ्चायतको समर्थन गर्ने ठाउँमा पुगे। पार्टी केन्द्रीय कमिटीको बहुमत उनले कब्जा गरेका थिए। यस्तो अवस्थामा उनी राजावादी भइसकेको परिस्थितिमा आन्दोलन र पार्टीलाई जोगाउन पार्टी पुनर्गठन गर्नु परेको थियो। २०१८ सालमा आयोजित “दरभंगा प्लेनम” बाट उनी र उनको गुटलाई सच्चिन, सामन्तवाद र सामन्ती शक्तिको दलाल नहुन दिइएका सुझावहरु पनि नमानेपछि पार्टीको अल्पमतले नै जोनल कमिटीहरु बनाएर तिनको संयोजन र आयोजनामा पार्टीको तेस्रो महाधिवेशन गरेर पार्टीलाई पुनर्गठन गर्नु परेको थियो। नेतृत्व र पार्टीको बहुमत दक्षिणपन्थी भएको, आन्दोलन बचाउने अरु कुनै वैकल्पिक उपाय नभएको बाध्यकारी अवस्थामा पार्टीको प्रथम पुनर्गठन भएको थियो।

दोस्रो: तेस्रो महाधिवेशनपछि खास कुनै वैचारिक मतभेद रहेको अवस्था थिएन। तर, पार्टी नेतृत्वले पार्टीलाई संगठित राख्न नसकेको, कमिटीहरुले नेतृत्वसँग र आपसमा पनि सम्पर्क सम्बन्ध विहीन अवस्थामा पुगेको र सिंगै पार्टी अस्तव्यस्त हुँदै छिन्नभिन्न हालतमा निष्कृय र निकम्मा बन्न पुग्यो। पार्टी विलिनीकरण हुँदै सग्लो अस्तित्वमा नरहेपछि फेरि पार्टी र आन्दोलनमा अस्तित्वकै संकट पर्यो। एकातिर राजाको निरङ्कुशतन्त्र र पञ्चायती एकदलीय एकाधिकारवादी अधिनायकवादको चर्को दमन यस्तो बेलामा हामीले नै २०२७–०२८ सालमा झापाबाट जनवादी गणतन्त्रको स्पष्ट उद्देश्य राखेर, त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी बाटो, त्यसका रणनीति र कार्यनीति समेतका स्पष्टताका साथ नयाँ पार्टी गठन विस्तार र एकतामार्फत् व्यापक र सुदृढ संगठन निर्माण गर्ने त्यसका लागि क्रान्तिकारी सक्रियताका साथ अघि बढ्ने नीतिका साथ पार्टीको पुनर्गठन गरिएको थियो। यो दोस्रो पुनर्गठन थियो र यस पुनर्गठनमा म समेतको पहल र अगुवाई थियो। त्यो प्रयास अनेकौं दमन र प्रतिकुलताका बावजुत झापा आन्दोलन, अपील, को।के, नेकपा ९माले० र एमाले हुँदै यहाँसम्म आइपुगेको छ।

तेस्रो : हामीले आन्दोलनलाई वर्तमान अत्यन्तै प्रतिकुल विश्व परिस्थितिमा समयानुकूल सही नीतिहरु तर्जुमा गर्दै, संगठन विस्तार र पार्टी एकीकरण, सफल र उपलब्धिपूर्ण काममार्फत् वि।सं। २०७५ सालसम्म आइपुग्दा निर्वाचनको बाटोबाटै लगभग दुई तिहाईको अवस्थासम्म हाम्रो पार्टी र आन्दोलनलाई पुऱ्यायौं। केहीलाई के कारणले त्यो पाच्य भएन। तिनले पार्टीमा उपद्रो मच्याएर र अन्ततोगत्वा हामीले नै एकता एकीकरणका लागि दिएको संख्याको दुरुपयोग गर्दै हामीलाई पार्टीबाट निकाल्ने, पार्टी कब्जा गर्ने र आन्दोलन सिध्याउने षडयन्त्रमा लागे। त्यति बेला फेरि हामीले मेरै पहल र नेतृत्वमा पार्टी पुनर्गठन गर्न बाध्य हुनुपर्यो र हामीले त्यसै गर्यौं। यो तेस्रो पुनर्गठन थियो, हामीले नै गरेको।

यी र यस्ता परिस्थितिमा चालिएका यस्ता बाध्यकारी र आन्दोलनका जीवनमा सकारात्मक प्रभाव पार्ने संगठनात्मक ठूला कदमहरूचाहिँ पुनर्गठन भएको उनले बताए । ‘यति बेला चले, चलाइएको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि विल्कुलै मेल खाँदैन’ ओलीले भनेका छन् ।

रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण तीनैवटा कुरालाई अहिलेको सही अर्थमा बुझ्नुपर्ने उनको धारणा छ ।

‘रूपान्तरण भनेको इतिहास मेट्नु होइन। पार्टीको सङ्घर्ष, विचार, बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन। रूपान्तरण भनेको कार्यशैली बदल्नु हो, जनतासँग बोल्ने भाषा बदल्नु हो, निर्णय प्रक्रिया छरितो बनाउनु हो , कमिटीलाई बैठक गर्ने औपचारिक संरचनाबाट जनताको समस्या समाधान गर्ने केन्द्रमा बदल्नु होस नेतृत्वलाई आदेश दिने तहबाट सुन्ने, बुझ्ने र परिणाम दिने तहमा बदल्नु हो’ उनले भनेका छन् ।

उनले आफ्नो औचित्यता पुष्टि गर्न रुखको बिम्ब प्रयोग गरेका छन् ।

‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन। जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो’ ओलीले भनेका छन्,’ हस्तान्तरण पद खाली गर्ने आकस्मिक र मनमौजी घटना होइन।’

जिम्मेवारी, ज्ञान, अनुभव, संस्था, राजनीतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण हुनुपर्ने तर तयारीबिनाको हस्तान्तरणले रिक्तता पैदा गर्न सक्ने उनको धारणा छ ।

‘पुस्तान्तरण उमेरको अंकगणित मात्र होइन। नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव, अवसर र निर्णयमा स्थान दिने प्रक्रिया हो। उमेर कम हुनु आफैंमा योग्यता होइन, उमेर बढी हुनु आफैंमा अयोग्यता होइन। ऊर्जा र अनुभवको संयोजन आवश्यक हुन्छ’ ओलीले भनेका छन् ।