मकवानपुरमा स्कारपियो दुर्घटनामा परेका न्यायाधीश सहितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँयो
काठमाडौं । मकवानपुरको भीमफेदी स्थित जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् । घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका अनुसार न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
दाङ तुलसीपुर उपमहानगर ९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीसँगै गाडीमा सवार अन्य ५ जना समेत घाइते छन्।
दुर्घटनामा परी अदालतका रजिष्ट्रार तारादत्त बडु, उनका छोरा रितेन्द्र बडु, छोरी रिता बडु र श्रीमती लक्ष्मी बडु घाइते छन्। लक्ष्मीको अवस्था भने गम्भीर छ।
प्रहरीका अनुसार सो दुर्घटनामा परी चालक छुनिलाल चौधरीलाई घाइते छन्। रजिस्ट्रार बडु र चालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
अन्य चार जनालाई काठमाडौंको छाउनी अस्पताल लगिएको हो।
मंगलबार बिहान ८ बजेतिर काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको गाडी भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्: