पार्टी रूपान्तरणको बहसप्रति ओलीको रोष, नेतृत्व नछोड्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । इलाम पुगेर लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी अफ्ठेरो परेको बेलामा नेतृत्व छाडेर नहिँड्ने बताए ।
उनले भने, ‘अहिले अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन् । अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँड्या छ।’

ओली यत्तिमा मात्र रोकिएनन् उनले अगाडि भने, ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा हो ।’
फरक मत राख्नेहरूलाई पार्टी छाडेर जान चेतावनी दिँदै ओलीले अनुशासनहीनता सह्य नहुने धम्की पनि दिएका छन्।
उनले भने, ‘पार्टीको कुरा गर्दा केन्द्रीय कमिटीदेखि तलसम्म, अध्यक्षदेखि साधारण सदस्यसम्म र आबद्ध सबै जनवर्गीय संगठनहरू मिलेर पार्टी बन्छ । पार्टी फुटेका बेला अनेक नेता गए पनि हामीले हैसियतका साथ पार्टीलाई उठायौँ र सर्वाधिक लोकप्रिय पार्टी बनायौँ। अहिले पार्टी फुटेको छैन, केही हुल्याहाहरूले हुलदङ्गा गरेका मात्र हुन्।’
ओलीले गएको निर्वाचनमा कम भोट आएको विषय गम्भीर भएको उल्लेख गरे।
उनले भने, ‘२८ लाख भोट आएको ठाउँमा १४ लाख मात्र भोट आउनु गम्भीर कुरा हो । पार्टी सदस्य धेरै हुने तर भोट कम आउने अवस्थालाई सुधार्नु छ। साथीहरूलाई इमानदार बनाउनु छ। पार्टी नबदल्ने, भोट बदल्ने जस्ता कुरा लाजमर्दो हो। यहाँको भात खाने तर काम अन्तै गर्ने ? यस्तो हुनुहुँदैन।’
एमालेभित्र अहिले ओली पार्टी सचिवालयमै अल्पमतमा छन्। त्यसैले सचिवालय बैठक बोलाउन आनाकानी गर्दै उनले केन्द्रीय सदस्यहरूलाई मनाउने प्रयास जारी राखेका छन्। उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका बहुसंख्यक पदाधिकारी आफ्नो विपक्षमा उभिएका बेला इलाम पुगेका उनले त्यसप्रति तीव्र रोष प्रकट गरेका हुन्।
उनले पार्टी भित्र अनुशासनहीनता र अराजकता बढेको बताए । उनले भने, ‘पार्टी अफिसको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्ने ? चिया खाँदै, समोसा खाँदै, अध्यक्ष हटाऊँ, भन्ने ? यस्तो अराजकता चल्दैन ।’
ओलीले आफ्नो विरुद्ध हस्ताक्षर गर्दै हिँड्नुको कुनै अर्थ नभएको पनि बताए । उनले भने, ‘महाधिवेशनको एउटा विधि, प्रक्रिया र समय हुन्छ। जतिबेला विरोधीले तीव्र प्रहार गरिरहेका छन्, त्यतिबेला सिंगो पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा भित्रैबाट यस्ता कुरा गर्नु बेकार हो।’
उनले दृढ विश्वास राख्न कार्यकर्तालाई आग्रह गर्दै केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिने बताए।

प्रतिक्रिया दिनुहोस्: