Bagmati Samachar Logo

मुख्यमन्त्री भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै सर्वसाधारण नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने र साथै प्रदेशमा भएका अस्पतालमा डायलाइसिस सेवा विस्ता गर्ने निर्णय गरेका छन् ।

शुक्रवार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा विस्तार र सुधारसम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले प्रदेशभरका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ । निर्णयानुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शैया थप गरिनेछ ।

त्यस्तै, लम्कीचुहा अस्पतालमा पाँच शय्या तथा बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शैया विस्तार गर्ने निर्णय गरिएको छ ।

शुक्रवार नै मुख्यमन्त्री भट्टसहित नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री भट्टसँगै सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी सहभागी थिए ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूले नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिने बताएका छन् । सङ्घीयताको मर्मानुसार प्रदेश संरचनालाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र नागरिकको सहज पहुँचमा केन्द्रित भएर काम गर्ने उनीहरूको प्रतिबद्धता छ।