Bagmati Samachar Logo

सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी लगायतका पूर्वी जिल्लामा हालै भएको दुःखद तथा संवेदनशील घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

पार्टीका सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

रास्वपाले कुनै पनि समस्या वा विवादको समाधान हिंसाबाट सम्भव नभएको उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेको छ। पार्टीले अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाउन नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवाला सबैलाई अपिल गरेको छ।

विज्ञप्तिमा सरकारले तत्काल शान्ति–सुरक्षा कायम गरी नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नुपर्ने, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा पीडित पक्षलाई उचित राहत, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै परिस्थितिलाई सामान्य बनाउन संवाद र सहकार्यमार्फत आवश्यक सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ। साथै, घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गर्दै पार्टीका स्थानीय समितिलाई पनि शान्ति र सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको छ।