सुदूरपश्चिममा नेकपाबाट खगराज भट्ट मुख्यमन्त्री बन्दा कर्णालीमा को बन्ला ?
काठमाडौं। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच भएको तीन बुँदे सहमति सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन् ।
भट्ट नेकपाका संसदीय दलका नेता छन् । उनी प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्ने भएका छन्।
नेकपा र एमालेबिच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढेको हो। दुवै दलबिच सत्ता साझेदारी, मन्त्रालयको भागबन्डा र साझा कार्यक्रमका विषयमा सहमति जुटेसँगै अब सुदूरपश्चिमको सरकार पनि नयाँ बन्ने भएको हो।
एमालेले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसयता नयाँ सरकार गठनका लागि राजनीतिक छलफल तीव्र बनेको थियो। अन्ततः नेकपा र एमालेबिच सहमति जुटेसँगै शाहको बहिर्गमन निश्चित भएको छ।
हाल मुख्यमन्त्री कमल शाह काठमाडौंमा छन् । उनले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ। खगराज भट्टले प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा शपथ लिने तयारी भइरहेको छ।
यससँगै दोस्रो प्रदेश सभामा पाँचौँ पटक सरकार परिवर्तन हुने भएको छ। २०७९ पुस २७ गते एमालेका राजेन्द्रसिंह रावल पहिलो मुख्यमन्त्री बनेका थिए। त्यसपछि कमल बहादुर शाह पहिलो पटक मुख्यमन्त्री बने। २०८१ वैशाखमा दीर्घबहादुर सोडारीले सरकारको नेतृत्व गरे भने त्यसपछि शाह दोस्रो पटक मुख्यमन्त्री बने। अब शाहको दोस्रो कार्यकाल समाप्त हुँदै खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।
सुदूरपश्चिम प्रदेशको पहिलो कार्यकाल भने स्थिर रहेको थियो। तत्कालीन नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले पाँच वर्ष पूरा कार्यकाल सरकारको नेतृत्व गरेका थिए।
उता कर्णालीमा पनि भागबण्डामा नेकपाको भागमा मुख्यमन्त्री परेको छ । एमालेबाट मुख्यमन्त्री रहेका यामलाल कडेलले आजै राजीनामा दिएका छन् । अब नेकपाका तर्फबाट मुख्यमन्त्री बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस्: