Bagmati Samachar Logo

हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी रोकियो

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले रात्रिकालीन सवारी सच्चालनमा रोक लगाएको हो ।

आज शनिबार साँझदेखि भोलि आइतबार बिहानसम्म लगातार भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि प्रशासनले राजमार्ग आवागमनमा विशेष सावधानी अपनाएको हो ।

विपद् जोखिमलाई ध्यानमा राख्दै आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म हेटौंडाबाट देउराली–कुलेखानी–फर्पिङ हुँदै काठमाडौं जाने सवारी साधनलाई हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा रोक्ने छन् ।

त्यसैगरी, मकवानपुर र ललितपुरलाई जोड्ने हेटौंडा–ठिंगन–बागमती–सातदोबाटो (कान्तिलोकपथ) जाने सवारी साधनलाई भने आज साँझ ६ बजेदेखि नै हेटौंडा उपाहानगरपालिका–६ चौघडा बजारमामा रोकिएको मकवानपुर प्रशासनले बताएको छ ।

प्रशासनका अनुसार काठमाडौं, ललितपुर, चितवन र सिन्धुली जोड्ने राजमार्गमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले यात्रु, सवारी चालकलाई सजग रहन भनेको छ ।