Bagmati Samachar Logo

डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते

काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलो सहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ३ः०० बजे आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५५.५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको हो ।

घटनामा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन् । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ भने अन्य तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । मृतकको आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनाको तनावका कारण बेहोस भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको छ । प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण सङ्कलन तथा घटनाबारे अनुसन्धान गरिरहेको छ ।