Bagmati Samachar Logo

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूले आज शपथ लिँदै छन्।

गत शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य तथा ७ पदाधिकारीको शपथ बुधबार पार्टी केन्द्रीय कार्यालय बनस्थलिमा हुने रास्वपाले जनाएको छ।

सभापति रबि लामिछानेले पदिधकारी तथा केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ खुवाउनेछन् ।
रास्वपाको ऐतिहासिक प्रथम महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय निर्वाचित भएका छन् ।

पदाधिकारीमा उपसभापति स्वर्णिम वाग्ले, महिला उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह, निशा डाँगी निर्वाचित भएका छन् ।

रास्वपा विधानअनुसार सभापति लामिछानेले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री २, कोषाध्यक्ष, सहकोषाध्यक्ष २, प्रवक्ता, सहप्रवक्ता ३ मनोनीत गर्नेछन् । यसैगरी ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

शपथपछि नै नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्नेछ।

बैठकपछि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया सुरू हुनेछ।

सभापतिले मनोनीत गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेस गर्ने प्रक्रिया छ।

चुनावअघि रास्वपामा समाहित भएका प्रधानमन्त्री बालेन्द्र शाहको समूह, विवेकशील साझाको समूहलाई समायोजन गर्न विधानमा मनोनीत हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको थियो।

जसमा वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत झण्डै १२ वटा पद सिर्जना गरिएको थियो।