Bagmati Samachar Logo

वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे ।

उनले आजको भोलि नै पार्टी एकता गर्न लागेको नभए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताए ।
उनले भने, ‘हामीले ढिलो नगरी भन्न चाहन्छु, राष्ट्रिय स्वाधिनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदिशक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । यसलाई ढिला गर्न गल्ती हुन्छ ।’

साथै, उनले विचार मिल्नेहरू एकता गर्न ढिला गर्दा ठूलो दुर्भाग्य हुनसक्ने बताए ।

‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भन्छन्, मलाई अनौठो लाग्छ । मैले आजै भोलि नै पार्टी एकता गरौं भनेको पनि छैन । मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ,’ प्रचण्डले भने ।

उनले वर्तमान सरकार संविधानका आधारभूत विषयमा प्रहार गर्नेतिर उद्धत रहेको आरोप लगाए ।

‘सरकार संविधानका आधारभूत कुरामा प्रहार गर्ने, उत्पिडीत समुदायमाथि प्रहार गर्न उद्धत भएको देखिंदै गएको छ । यो सबैको तार्गेट मूल कुरा कम्युनिस्ट आन्दोलनलाई कसरी सकाउने ? भन्नेतिर छ,’ प्रचण्डले भने ।