रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक, केन्द्रीय सदस्यका लागि २१ हजार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र प्रक्रिया सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र कागजातबारे जानकारी दिएको हो ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार, सभापति पदका लागि उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ ।
त्यसैगरी, पार्टी पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदका लागि १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था छ । आयोगका अनुसार उम्मेदवारका प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरूको नाम प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्नेछ ।
केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका प्रमुख भुवन केसीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली असार ६ गते राति साढे ८ बजे पार्टीको वेबसाइटमार्फत प्रकाशन गरिनेछ ।
कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिमाथि दाबी तथा विरोध असार ७ गते राति साढे ८ बजेसम्म चितवन औद्योगिक प्रदर्शनी केन्द्रस्थित निर्वाचन आयोगको सम्पर्क सचिवालयमा दर्ता गर्न सकिनेछ । सोही दिन राति ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली पार्टीको वेबसाइट तथा निर्वाचन आयोगको सम्पर्क सचिवालयमा प्रकाशन गरिने जनाइएको छ ।
उम्मेदवारी मनोनयनका लागि फाराम वितरण असार ८ गते दिउँसो १ बजेदेखि सुरु हुनेछ । उम्मेदवारी मनोनयनपत्र दर्ता सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली असार ८ गते साँझ ६ बजे सार्वजनिक गरिनेछ ।
उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ता गर्ने समय असार ८ गते साँझ ६ बजेदेखि ७ बजेसम्म तोकिएको छ । दाबी तथा विरोध परेका उम्मेदवारबारे जाँचबुझ बेलुकी ७ बजेदेखि ९ बजेसम्म गरिनेछ भने उम्मेदवारी फिर्ता लिने अन्तिम समय बेलुकी सवा ९ बजेसम्म निर्धारण गरिएको छ।
उम्मेदवारहरूको अन्तिम नामावली असार ८ गते राति ११ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । कार्यतालिकाअनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यहरूको निर्वाचनका लागि पहिलो चरणको मतदान असार ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
मतगणना तथा मतपरिणामको घोषणा मतदान सम्पन्न भएको दुई घण्टापछि गरिने जनाइएको छ । दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका भने पछि प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारीका लागि आवश्यक कागजातहरू
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि निम्न कागजातहरू अनिवार्य गरेको छ
१. भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम ।
२. उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर ।
३. आफूलाई कुनै अनुशासन कारबाही नपरेको स्वघोषणापत्र ।
४. पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि ।
५. २ प्रति पासपोर्ट साइजको फोटो ।



प्रतिक्रिया दिनुहोस्: