Bagmati Samachar Logo

स्पेनलाई डेब्यु गरेको केप भर्डेले रोक्यो

एजेन्सी
काठमाडौं । विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले साविक युरोपियन च्याम्पियन स्पेनसँग गोलरहित बराबरीमा रोक्दै विश्वकपमा शसक्त रुपमा प्रस्तुत भएको छ ।

समूह ‘एच’ अन्तर्गत एटलान्टा स्टेडियममा सोमबार भएको खेलमा फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्पेनले ६७औं वरीयताको केप भर्डेविरुद्ध गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा सकियो।

६७ हजार ६ सय ४० दर्शकमाझ भएको खेलमा केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण अंक दिलाए। स्पेनले खेलभरि बलमाथि नियन्त्रण राखे पनि केप भर्डेको संगठित रक्षापंक्ति र गोलरक्षक भोजिन्हालाई छल्न सकेन।

पहिलो हाफमा फेरान टोरेसले पाएको उत्कृष्ट अवसर खेर फाले। मार्क कुकुरेलाको हेडरबाट आएको बललाई उनले गोलमा परिणत गर्न नसक्दा स्पेन अग्रता लिनबाट वञ्चित रह्यो।

दोस्रो हाफमा ह्यामस्ट्रिङ चोटबाट निको भएर फर्किएका युवा स्टार लामिन यामाल मैदान प्रवेश गरेपछि स्पेनको आक्रमणले केही गति लिएको थियो। विश्वकपमा पहिलो खेल खेलिरहेका १८ वर्षीय यामालले केही आकर्षक मुभ बनाए पनि निर्णायक प्रभाव छोड्न सकेनन्।

खेलको अन्तिम समयमा मिकेल ओयारजाबालको प्रयासलाई केप भर्डेका डिफेन्डर रोबर्टो लोपेसले उत्कृष्ट ब्लक गर्दै टोलीलाई जोगाए।

स्पेन जितका लागि दबाब बढाइरहेका बेला केप भर्डेले पनि खेलको अन्त्यतिर उल्टै गोल गर्ने अवसर सिर्जना गर्यो। डिने बोर्जेसको हेडरलाई स्पेनका गोलरक्षक उनाई सिमोनले सहजै नियन्त्रणमा लिएपछि खेल गोलरहित बराबरीमा टुंगियो।

विश्वकप इतिहासमा पहिलो पटक सहभागी भएको केप भर्डेका लागि यो नतिजा ऐतिहासिक उपलब्धि बनेको छ। प्रतियोगिताअघि धेरैले स्पेनले सहज जित निकाल्ने अनुमान गरे पनि केप भर्डेले अनुशासित प्रदर्शन गर्दै एक अंक सुरक्षित गर्न सफल भयो। योसँगै ग्रुप एचमा स्पेन र केप भर्डेले समान १ अंक जोडेका छन्। दुवै यो ग्रुपको पहिलो र दोस्रो स्थानमा उक्लिएका छन्।