Bagmati Samachar Logo

सुदूरपश्चिममा देउवा समूहको भेला, पार्टी विभाजनतर्फ नलाग्न सुझाव

काठमाडाैं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिमा पूर्वसभापति शेरबहादुर देउवा समुहले भेला आयोजना गरेको छ । उक्त भेलामा संस्थापन इतर समूहका नेता–कार्यकर्ता सहभागी भएका छन् ।

प्रदेश सभापति वीरबहादुर बलायरको अध्यक्षतामा धनगढीस्थित सौराई स्क्वायरमा सुरु भएको भेलामा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ शीर्षकको ब्यानर राखिएको छ ।

भेलामा कांग्रेसका नेता रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत, केदार कार्कीलगायत नेताहरू सहभागी छन् । यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित , आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकास मन्त्री मेघराज खड्का, राष्ट्रियसभा सदस्य तथा कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरू उपस्थित छन् ।

यसअघि कार्यक्रममा अन्य प्रदेशका नेताहरूलाई आमन्त्रण नगरिने बताइएको थियो । तर अहिले विभिन्न प्रदेशका नेताहरूको उपस्थिति देखिएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेस नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन् । उनीहरूले पार्टीभित्र संवाद, सहकार्य र एकताको आवश्यकता औंल्याएका थिए ।

यसअघि कांग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा पनि सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिएको थियो । उक्त भेलामा प्रदेश सभापति वीरबहादुर बलायर, कैलाली जिल्ला सभापति नारायणदत्त भट्टलगायत नेताहरू सहभागी भएका थिएनन् । तर शनिबार आयोजित भेलामा देउवा समूह निकट नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ ।
सभापति थापा समुहका नेताहरु भने शनिबारको भेलामा सहभागी भएनन् ।