Bagmati Samachar Logo

नेकपा एमाले सचिवालयमा फेरिएको समिकरण : एक्लिदै ओली, एक हुँदै पदाधिकारी

नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध अन्य पदाधिकारीहरु एक भएका छन् । जारी बैठकमा शनिबार उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठन हुनु पर्ने धारणा राखेका छन् ।

सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् । विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई उनले गल्ती भनेका छन् ।

अब त्यही व्यवस्था कायम राखेर पुनगर्ठनमा जानुपर्ने प्रस्ताव राखेका थिए । विगतका कमजोरी औल्याउने क्रममा पौडेलले २३ भदौको दिन समेत सम्झिएका थिए ।

जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरुको मृत्यु भइसकेपछि प्रधानमन्त्री पदबाट ओलीले राजीनामा नदिएर गल्ती भएको पौडेलको निष्कर्ष थियो । ‘२३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,’ पौडेलले भनेका थिए ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाएर गल्ती भएको निष्कर्ष सुनाएका थिए ।

विगतका कमजोरी खोतल्ने क्रममा उपाध्यक्ष पौडेले २३ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा नदिएर ओलीले गल्ती गरेको पनि तर्क गरेका थिए । ‘२३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,’ पौडेलले भनेका थिए ।

महासचिव शंकर पोखरेलले पार्टी यथास्थितिमा चल्न नसक्ने बताएका छन् । शनिबार अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसेको सचिवालयको आठौं बैठकको तेस्रो दिन धारणा राख्दै उनले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएका हुन् ।

‘पार्टी आन्दोलन यही अवस्थामा चल्नैन । समग्र पुनर्गठन गरेर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारील जानकारी दिए ।
उनका अनुसार महासचिव पोखरेलले राजीनामा शब्द प्रयोग गरेका थिएनन् । उनले उठाउँदै आएको पुनर्गठनको विषयलाई सचिवालय बैठकमा स्पष्टसँग राखेका थिए ।

उपाध्यक्ष गोकर्ण बिष्टले सबैले पद त्यागेर भएपनि एमाले जोगाउनुपर्ने सुझाव राखेका थिए ।

‘पर्यो भनेर मेरो ठाउँ त्याग्न तयार छु । हामी सबैले पद त्याग्न पनि तयार हुनुपर्छ,’ उपाध्यक्ष बिष्टको प्रस्ताव थियो, ‘दक्षिणपन्थी अवसरवादविरुद्ध लड्ने भनेर हिडेको हामी कहाँ चुक्यौ । निर्मन समीक्षा गर्नुपर्छ ।’

उपाध्यक्ष बिष्टले पार्टीका हरेक तहका नेताले आवश्यक पर्दा त्याग गर्न तयार छु भन्ने भावना बोकेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए ।
उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। जारी सचिवालयको आठौं बैठकमा शनिबार बोल्ने क्रममा उनले अध्यक्ष ओलीबाट अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष सुनाएका हुन् ।
‘अध्यक्ष ओली अब तपाईंले राजीनामा दिनुस्, तपाईंबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बताए ।
अध्यक्ष ओलीले पार्टी पुनर्गठनका पक्षमा उठेको आवाजलाई सम्बोधन गर्नुपर्ने र निकास दिनुपर्ने धारणा उनले राखेका थिए ।

सचिव महेश बस्नेतबाहेक कसैले पनि अध्यक्ष ओलीको बचाउ नगरेको पदाधिकारीको भनाइ छ ।

सचिव पद्मा अर्यालले पनि नेतृत्वले सोचेकोजस्तो अवस्था तल नरहेको भन्दै सुधारको खाँचो औंल्याएकी थिइन् ।

‘माथिबाट हेर्दा जस्तो देखिन्छ, तल त्यस्तो छैन,’ उनको भनाइ थियो । आजको बैठकमा सचिव महेश बस्नेत कठोर सुनिएका थिए ।
सचिव महेश बस्नेतले संकटपूर्ण अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेर आपराधिक काम नगर्न चेतावनी दिएका थिए ।
जारी सचिवालय बैठकमा बहुसंख्यक सचिवालय सदस्यहरूले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिरहेका बेला उनी बचाउमा लागेका हुन् ।

‘यस्तो बेलामा अध्यक्ष ओली नेतृत्वबाट हट्नुपर्छ भन्ने अपराधी हुन् । संकटका बेला नेतृत्व हटाउन लाग्नेहरू अपराधी हुन्,’ बस्नेतको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बताए ।