Bagmati Samachar Logo

प्रधानमन्त्री नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समिति बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सहभागी नभएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक नै बहिष्कार गरेको छ । लगातार दोस्रो पटक पनि प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जबाफ माग गर्नुपर्ने भए पनि बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेको कांग्रेसको भनाइ छ।

प्रधानमन्त्री बालेन बैठकमा लगातार नआएपछि कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति बैठक नै बहिष्कार गरेको छ।

समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव छन्। उनीहरू सोमबार ११ बजे बोलाएको बैठकमा अनुपस्थित रहेको संसदीय दल नेता आङ्देम्बेको सचिवालयले जनाएको छ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरेका छन्।

‘गृह मन्त्रालयसँग सम्बन्धित सुकुम्बासीलगायत विषयमा जवाफ लिनु छ। गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री नै हुनाले प्रधानमन्त्री आएर जबाफ दिनुहुन्छ भने हामी आउँछौँ। प्रधानमन्त्री नआउने हो भने औपचारिक रूपमा भेटिएर छलफल गरेर, परिचय गरेर, चिया खाएर हिँड्ने हिसाबले हाम्रो उपस्थिति रहँदैन भनेको हो। आज पनि यही कुरा दोहोर्‍याएर बैठकमा अनुपस्थित भयौँ,’ उनले भने।

आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए बैठकको जानकारी दिन भनिएको पनि बताए। उनका अनुसार सभापति ढकाललाई प्रधानमन्त्री बालेनलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको भए पनि स्मरण गरे।