Bagmati Samachar Logo

कांग्रेसको इतिहासमा पहिलोपटक जनजाति समुदायबाट संसदीय दलको नेता

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।

संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको संसदीय दलको नेतामा दुई महिना लामो रस्साकस्सी चलेको थियो । अन्ततः आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो ।

यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दैआएका थिए । सोही कारण सहमति जुट्न सकस भएको थियो ।

कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माको चाहना पनि संसदीय दलको नेतामा जनजाति बनाउने । यसका लागि उनले गृहप्रदेशका नेता भीष्मराज आङ्देम्बेको नाम लिएका थिए ।

गत २१ फागुनको प्रतिनिधिसभाको चुनावमा कांग्रेसले ३८ सिट मात्र ल्याएको थियो । दलको नेताका लागि अर्जुननरसिंह केसी, आङ्देम्बे र मोहन आचार्यको दाबी थियो । आकांक्षीहरूबीचमा कुरा मिलाउन शर्माको नेतृत्वमा कार्यदल बनाइएको थियो । सहमतिका लागि उपसभापति शर्माका साथै उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीय पौडेल र गुरुराज घिमिरे संवादमा जुटेका थिए । गत शुक्रबारको निर्वाचन तालिका स्थगन गरिएको थियो । आङ्देम्बेलाई    शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेताहरूको पनि समर्थन थियो ।

दलको नेतामा केसीको दाबी थियो । उनले आफ्नो नाममा सहमति नभएमा सांसद बासना थापालाई दलको नेता बनाउन प्रस्ताव गरेका थिए । तर, थापा प्रमुख सचेतक बन्दै छिन् । त्यस्तै, सांसद निश्कल राई सचेतक बन्दै छन् ।

२०२० सालमा पाँचथरको फाल्गुनन्दको नवमीडाँडामा जन्मेका आङ्देम्बे २०३६ सालको जनमतसंग्रहको बेलाबाट कांग्रेस राजनीतिमा सक्रिय भएका थिए । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलहुँदै कांग्रेसको १४औँ महाधिवेबानबाट सहमहामन्त्री निर्वाचित भएका थिए ।

२०७० को दोस्रो संविधानसभामा पाँचथर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि आङ्देम्बे २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथर– २ मा एमालेका डम्बरसिंह सम्बाहाम्फेसँग पराजित भएका थिए । त्यस्तै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पुनः एमालेका वसन्तकुमार नेम्वाङसँग आङ्देम्बे ४६ मतले पराजित भएका थिए ।

पछिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका आङ्देम्बे ८० वर्ष पुरानो कांग्रेसको संसदीय दलको नेता बन्ने पहिलो जनजाति नेता हुनेछन् । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा आङ्देम्बेको भूमिका कांग्रेसभित्र होइन, संसद र संवैधानिक परिषद्‌मा महत्त्वपूर्ण भूमिका हुनेछ ।

२१ फागुनको चुनावबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई दलको नेता बनाएर प्रधानमन्त्री बनाएको छ । त्यस्तै, एमालेले रामबहादुर थापा, नेकपाले पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीले हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई यसअघि नै दलको नेता चयन गरेका छन् ।