एमाले महाधिवेशन युवा प्रतिनिधिको चेतावनी पार्टी एकता होइन, पुनर्गठन
काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनमा युवा क्लष्टरका प्रतिनिधिहरुले पार्टी एकता होइन पुनर्गठन गर्नु पर्ने माग गरेका छन् । युवा प्रतिनिधिहरुले पार्टी पुनर्गठनको विषयलाई विषयान्तर गरेर एकताको कुरा नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् ।
पार्टी पुनर्गठन अभियानसम्बद्ध युवा संघका उपमहासचिव उपेन्द्र शाहीसहितका युवा नेताले विज्ञप्ती निकालेर त्यस्तो चेतावनी दिएका हुन् । फागुन २१ को निर्वाचनमा भएको लज्जास्पद पराजयले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकलाई स्तब्ध बनाएको उनीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘यो हार केवल प्राविधिक पराजय मात्र नभई पार्टीको विद्यमान नीति, कार्यशैली र नेतृत्वमाथि जनताले गरेको गम्भीर अविश्वास र प्रश्न पनि हो ।’
उनीहरूले पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथाशीघ्र सम्बोधन गर्ने गरी अगाडि बढ्न जोडदार आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै पनि प्रकारको असामयिक र दुराशययुक्त पार्टी एकीकरणको प्रयासप्रति असहमति व्यक्त गर्दै त्यस्ता गतिविधिहरूको कडा शब्दमा विरोध गर्दछौं ।’
एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच एकता हुने चर्चा चलेपछि युवाहरु पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्: