Bagmati Samachar Logo

एक लाख पुरस्कार राशीसहित एभीन्यूको निबन्ध प्रतियोगिता घोषणा

काठमाडौँ । एभीन्यू एजुकेशन कन्सल्टेन्सीले ‘विश्वव्यापी शैक्षिक परिप्रेक्ष्यमा नेपालको शिक्षा प्रणालीः स्थिति र सम्भावना’ विषयमा भिडियो निबन्ध प्रतियोगिताको घोषणा गरेको छ। सरस्वती पूजाको पावन अवसर पारेर एभीन्यू एजुकेशनले नेपाली विद्यार्थीहरुका लागि यो प्रतियोगिता आह्वान गरेको हो ।

प्रतियोगिता नेपालको शिक्षा प्रणालीको अवस्था र सुधारका सम्भावनाहरूको विश्लेषण गर्नु रहेको यसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रबिन पाण्डेले बताए । यस प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क लाग्ने छैन । सहभागीहरुबाट उत्कृष्ट पहिलो हुनेले रु १ लाख पुरस्कार पाउनेछन् ।

दोस्रो र तेस्रो हुनेले क्रमश पचास हजार र तीस हजार पाउने एभीन्यु एजुकेशनले आज जारी गरेको सूचनामा उल्लेख छ । त्यसैगरी सहभागी अन्य उत्कृष्ट पाँच जनालाई नेपालमा पढ्न चाहेमा २० प्रतिशत छात्रवृत्तिको पनि व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ । सहभागीहरूले ३ देखि ५ मिनेटको भिडियो स्पीच तयार गरेर एभीन्यू एजुकेशन कन्सलटेन्सीको आधिकारिक ईमेल info@avenue.edu.np मा पठाउनु पर्नेछ । भिडियो अंग्रेजी या नेपाली भाषामा हुनु पर्ने छ ।

भिडियो आफैले खिचेको हुनुपर्नेछ र यसमा कुनै पनि बौद्धिक सम्पत्ति अधिकारको उल्लंघन नगरी तयार गर्नु पर्नेछ । सहभागिताको लागि एभीन्यूले आज मिति २०८१ माघ २१ गतेदेखि २०८१ फागुन २० सम्म एक महिनाको समय सीमा तोकेको छ । प्रतियोगतामा आएका भिडियो निबन्धहरुलाई स्वतन्त्र निर्णायक मण्डलले छनौट गर्नेछ ।
प्रतियोगिताको लागि सहभागीहरुलले सबै भिडियोहरू डिजिटल फाइलको रूपमा पठाउनुपर्ने छ ।

भिडियोमा कुनै चिन्ह वा लोगो प्रयोग गर्न पाइने छैन । यस प्रतियोगितामा सहभागी हुनका लागि कुनै उमेर समूह तोकिएको छैन तर नेपाली विद्यार्थी नै हुनुपर्ने एभीन्यू एजुकेशन कन्सल्टेन्सीका बिजनेश डेभलपमेन्ट म्यानेजर सुरक्षा बरालले जानकारी दिइन् ।