ताजा अपडेट
राजनीति

जनार्दनले गुटको भेलामा भने खुमलटारको घरमात्र हेडक्वाटर होइन, हेडक्वाटर हुन सबै साथ हुनु पर्छ

जनार्दनले गुटको भेलामा भने खुमलटारको घरमात्र हेडक्वाटर होइन, हेडक्वाटर हुन सबै साथ हुनु पर्छ

काठमाडाैँ । नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको निर्वाचनको मतपरिणाम आए लगतै गुटको भेला गरेका छन् ।

शर्माले आफू निकट विजयी र विजयी गराउन रातदिन खटेका पूर्वविद्यार्थी नेताहरुलाई बोलाएर गुटको भेला गरेका छन् ।
शर्माले गुटको भेलालाई सम्बोधन गरेका सहभागी एक विद्यार्थी नेताले बताए । ती विद्यार्थी नेताले शर्माको भनाइ भन्दै भने,‘विद्यार्थीको निर्वाचनमा जसरी हेडक्वाटर हेडक्वाटर भनेर प्रचार गरियो त्यो घर मात्र हेडक्वाटर हुदैन । खुमलटारको घर मात्र हेडक्वाटार होइन । हेडक्वाटर हुन सबै एक साथ उभिनु पर्छ । जसरी घर हुन घरका चार पिल्लर उभिएको हुनु पर्छ । यदि एक दुई पिल्लर ढलेमा घर ढल्छ । त्यसरी नै हेडक्वाटर हुन सबै एक साथ हुनु पर्छ । त्यो भएन भने अध्यक्ष बस्ने खुमलटारको घरमात्र हेडक्वाटर होइन । सबै नेताहरु बस्ने घर हेडक्वाटर हो । विद्यार्थीमा ७० प्रतिशत जितेको यो हेडक्वाटर हो ।’

शर्माले क्रान्तिकारीको आफ्नो गुटको निर्वाचित टिमलाई कलंकीको मेगा बैक्वेटमा रात्री भोज दिएका छन् ।
विद्यार्थीको निर्वाचनमा शर्मा आफू बाहिर देखिएनन् । उनका भाइ अनिल शर्माले विद्यार्थीको निर्वाचनको मोर्चा सम्हालेका थिए । विद्यार्थीमा शर्माले प्यान बनाएर नै निर्वाचनमा होमिएका थिए । जसमा पदाधिकारीमा ३३ जनामा २२ जना विजयी भएका छन् । अध्यक्षमा ७२ मतले शर्मा प्यानलका हेमन्त राई पराजित भए ।

शर्मा प्यानलका उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ७, सचिव ७ र कोषाध्यक्ष १ जना विजयी भएका छन् ।
प्रेस सेन्टरको केन्द्रीय समिति बैठकमा मंगलबार उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको चुनावमा पार्टी भित्रका गुटहरु सतहमा आएको चर्चा गरेका थिए । उनको संकेत हेडक्वाटरले तयार पारेको प्यानल विरुद्ध समानान्तर प्यानल तथा उम्मेदवारहरु खडा गरेर चुनाव लड्नुतर्फ थियो ।

सापकोटा,महासचिव देव गुरुङ, उपाध्यक्ष कृष्णबहादुर महरा , उपमहासचिव शक्ति बस्नेत लगायतका पूर्व विद्यार्थी नेताहरुले हेडक्वाटर भन्दै विजय प्रकाश सापकोटाको नेतृत्वमा प्यान खडा गरेर निर्वाचनमा होमिएका थिए । तर सापकोटा बाहेक अरुले जित्न सकेनन् ।

उपमहासचिव वर्षमान पुनले पनि सुदीन पौडेलको नेतृत्वमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । तर २ जना पदाधिकारी मात्र विजयी भए ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलेपनि आफ्नो टिम निर्वाचनमा होमेका थिए । तर २ पदाधिकारी बाहेक जित्नु सकेनन् ।
शर्मा प्यानलका भने ७० प्रतिशत पदाधिकारीले जितेका छन् । विजयी भएका आफ्नो प्यानलका धेरैजसोलाई शुक्रबार साँझ कलंकीको मेगा ब्यांक्वेटमा रात्रीभोज दिईए छन् ।

भेलामा शर्मा प्यानलबाट अध्यक्षको उम्मेदवार रहेका नेता हेमन्त राईदेखि उमेरहद लागेर बिदा भएका शर्मा पक्षका पुराना नेतासहित करिव ६० जना नवनिर्वाचित नेताहरु थिए ।

क्रान्तिकारीमा अध्यक्षबाहेक ३३ पदाधिकारीमध्ये २२ जना शर्मा प्यानलका विजयी भएका थिए । अध्यक्षमा भने हेडक्वाटर प्यानलबाट विजयप्रकाश शर्मा सापकोटाले राईलाई ७२ मतले पछि पारेका थिए ।

सो भेलामा पूर्वमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँती, सन्तोष विष्ट, पदम जोशी, अनिल शर्मा पनि सहभागी थिए ।

राई पनि अहिले खुलेर शर्मा गुटमा लागेका छन् । पहिला राई अध्यक्ष प्रचण्ड र वर्षमान पुनकोमा पनि समन्वय गर्न पुग्दथे । तर यसपाली भने उनी शर्माको भेलामा सहभागी भएका छन् । सो भेलामा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा पनि सहभागी भएका छन् ।

अध्यक्ष प्रचण्डले अनेरास्ववियू क्रान्तिकारीको नवनिर्वाचित कार्यसमितिलाई बिहीबार खुमलटार बोलाएर छलफल गरे लगत्तै उपमहासचिव शर्माले आफ्नो गुटकालाई रात्री भोज नै दिएका छन् । अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना दिने क्रममा जो जो जताबाट जसरी जिते पनि अब सबै पार्टीको हुने र पार्टी मूल नेतृत्वसँगै केन्द्रीत हुने बताएका थिए । सबैलाई पार्टीले समान व्यवहार गने भन्दै प्रचण्डले अब स्ववियू चुनावसहित पार्टी बनाउन नवनिर्वाचित नेताहरुलाई निर्देशन दिएका थिए ।

उनले शर्मा प्यानलबाट निर्वाचित महासचिव रोशन थापामगरसँग छुटेटैसमेत भेटेका थिए ।
यसअघि शर्माले नै अध्यक्ष बनाएका पञ्चा सिंह लगायतले उनको गुट छोडेर अध्यक्ष प्रचण्डसँगै हेडक्वाटरमा केन्द्रीत भएपछि पनि शर्माले यसपटक विद्यार्थीमा पकड बढाउन सुरुदेखिनै प्रयास गरेको हुनसक्ने अर्का एक सहभागिले बताए ।
३२ वर्षे उमेर हद लगाएपछि पहिलोपटक भएको प्रत्यक्ष निर्वाचनबाट उपमहासचिव शर्मा पक्ष क्रान्तिकारीमा हाबी भएको छ ।

शर्मा निकट भनिएका केहि विद्यार्थी नेताहरुले उनको साथ छोडेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…