सत्तारुढ दलहरूको बैठक बोलाएर प्रधानमन्त्रीले भने– संसदमा विपक्षीलाई हाबी हुन दिनु हुदैन

काठमाडौं । संसदको हिउँदे अधिवेशन यहि १८ गतेबाट सुरु हुदै छ । अधिवेशन सुरु हुनु भन्दा पहिला नै सत्ता पक्ष र विपक्षहरु मोर्चाबन्दीमा जुटेका छन् । केहि दिन पहिलाबाट नै विपक्षीहरुले मोर्चाबन्दी सुरु गरेका छन् । यता सत्तारुढ दलहरूले पनि काउन्टर रणनीति बनाएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूसँग सामुहिक छलफल गरी संसदमा सत्तारुढ दल एक ढिक्का हुनुपर्ने बताएका छन् ।
बैठकमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको विषयमा ब्रिफिङ गर्दै त्यसको बचाउमा सत्तारुढ दल एकढिक्का भएर संसदमा प्रस्तुत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सो बैठकमा सहभागी एक नेताले भने, ‘अध्यादेश अति आवश्यक भएर ल्याएको हो । यसबारे सत्तारुढ दलहरूमा विवाद देखिनु भएन । सबै दलले एकमत भएर यसको पक्षमा उभिनुपर्यो । नत्र विपक्षीले पनि मौका पाउँछन् । र जनतामा पनि कन्फ्युजन हुन्छ ।’
प्रधानमन्त्रीमा संसदमा विपक्षीहरू एकजुट हुन लागेकोमा प्रेसर देखिएको ती नेताले बताए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सबै दल एक ढिक्का हुनुपर्नेमा जोड दिएको ती नेताले बताए । देउवाले संसदमा सत्तारुढ दलमै विभाजन देखिए विपक्षीले मौका पाउने बताएका थिए ।
सोमबारको बैठक मुख्य रुपमा संसदमा सत्तारुढ दल कसरी प्रस्तुत हुने भन्ने विषयमै केन्द्रित रहेर छलफल भएको थियो ।
यसअघि कांग्रेस र एमाले आआफ्ना संसदीय दलका बैठक राखेर आआफ्ना सांसदहरूलाई अध्यादेशबारे ब्रिफिङ गरेका थिए । र अध्यादेशको बचाउमा एक ढिक्का हुन निर्देशन दिएका थिए ।
तर कांग्रेसमा अध्यादेशको बारेमा एक मत छैन । कांग्रेसका सांसदहरुले नै अध्यादेशको विरोध गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: