अखिल क्रान्तिकारीको चुनावमा फेरि विवाद, मतपत्र नै हराएपछि सापकोटा पक्षले खन्याइदिए पानी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चुनावको मतगणनाका क्रममा मधेश प्रदेशमा विवाद भएको छ। मतगणनाका गर्दा पाँच मत कम भेटीएपछि अध्यक्षका उम्मेदवार विजय प्रकाश शर्मा सापकोटा पक्षले मतपत्रमा पानी खन्याइदिएपछि विवाद भएको हो ।
मधेश प्रदेशमा जारी मतगणना विवादका कारण रोकिएको छ । मधेशमा १५९ मत खसेको थियो । गणनाका क्रममा १५४ मत मात्र भेटिएपछि विवाद सुरु भएको एक प्रतिनिधिले बताए ।
क विद्यार्थी नेताले भने, ‘मधेश प्रदेशमा १ सय ५९ मत खसेको थियो । तर, पाँचवटा मत कम भएपछि विवाद सुरु भएको हो । विवादका बीच महासचिवका उम्मेदवार सञ्जय महतोको मान्छेले मतपेटिकामा पानी खन्याएका छन् । उनीहरू आफूहरू कमजोर भएपछि विवादमा उत्रेका छन् । अब के हुन्छ टुङगो छैन ।’
मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, विजयप्रकाश शर्मा सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् । पाँच मत कम भेटिएपछि विवाद बढेको थियो । अब के गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा महतो पक्षले पानी खन्याएको ती विद्यार्थी नेताको दाबी छ, जसका कारण पुनः निर्वाचन गर्ने माग बढेको छ ।
अहिले दुवै पक्षले पुनः चुनाव हुनुपर्ने माग गरेका छन् । मतगणना स्थगित भएसँगै निर्वाचन समितिले अहिले सिलबन्दी गरेर राखेको छ ।
प्रतिक्रिया दिनुहोस्: