अखिल क्रान्तिकारीको निर्वाचनमा जनार्दन शर्माले प्यानल बनाउदा अन्य समुह तितरवितर

काठमाडौं । अखिल क्रान्तिकारीको नेतृत्वको लागि अध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा, सुदीन पौडेल, उपदेश यादव, गजेन्द्र यादव र विश्राम शर्माले उम्मेदवारी दिएका छन् । १२ माघमा हुने निर्वाचन हुने छ ।
उपाध्यक्षमा भने धेरै जनाले उम्मेदवारी दिएका छन् । जसमा विराज थापा, मुना काप्री, जनक बटाला, मुना थापा मगर, देवकी कार्की, ममता अधिकारी, दीपा जैसी, अटल आचार्य, ज्ञानु खड्कालगायतले उम्मेदवारी दिएका छन् । यस्तै, महासचिवमा प्रतीक कार्की, रोशन थापामगर, रोशन खड्का, शिव बस्नेत, सञ्जयकुमार महतो, पदम काफ्ले, तिर्सना हमाल, गोविन्द बानियाँ, श्याम रोका र सञ्जीव फुयाँल उम्मेदवार बनेका छन् ।
यसैगरी, उपमहासचिवका लागि निर्मला गौतम, विष्णु ढुङ्गाना, भुवनसिंह विष्ट, जटिल कार्की, रेशम अधिकारी, प्रकाश अधिकारीलगायतले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार, १२ सचिवका लागि सन्दीपविक्रम साह, समकृति पुन, सम्झना राई, वीरेन्द्र जीसी, चेतराज जोशी, शिशिर बस्याल, आशा उपरकोटीलगायतले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा भने पार्वता चौलागाईं र फूलमाया रानाको उम्मेदवारी परेको छ । अनुशासन आयोग संयोजकमा अमिरराज खरेल र इन्दिरा पुरीले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो अध्यक्ष र महासचिवका आकाङ्क्षीहरूसँग सामूहिक र एक्लाएक्लै छलफल गरेका थिए । तर, आकाङ्क्षीहरू कोही पनि पछि हट्न नमानेपछि निर्वाचनको प्रक्रिया अघि बढेको थियो ।
जनार्दन शर्माको प्यानल खडा , अन्य समूह तितरवितर
अखिल क्रान्तिकारीको निर्वाचनमा पार्टीका उपमहासचिव जनार्दन शर्मानिकट विद्यार्थीहरूले प्यानल नै खडा गरेका छन् । उपमहासचिव शर्मानिकट विद्यार्थीहरूले सिङ्गो प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । शर्मानिकट प्यानलबाट अध्यक्षमा हेमन्त राई र महासचिवमा रोशन थापा मगरले उम्मेदवारी दिएका छन् । शर्मा समूहले उपाध्यक्ष, उपमहासचिव, सचिव, कोषाध्यक्ष र अनुशासन आयोगको संयोजकमा पनि प्यानल बनाएर उम्मेदवारी दिएको उनीनिकट एक विद्यार्थी नेताले बताए ।
‘निर्वाचनमा उपमहासचिव शर्माको टिम एक ठाउँमा छन् । पार्टीभित्रको अन्य समूहबाट तितरवितर भएको छन् । शर्मानिकट विद्यार्थीहरूबाहेक अन्य समूह तितरबितर भएकाले सबैले हेडक्वार्टरको उम्मेदवार भन्दै प्रचार गरिरहेका छन्,ु ती नेताले भने ।
पार्टी अध्यक्ष प्रचण्डनिकट विद्यार्थीहरूले अध्यक्षमा विजय सापकोटा र महासचिवमा तिर्सना हमाललाई उम्मेदवार बनाएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहबाट उपदेश यादव अध्यक्षको उम्मेदवार बनेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका योगेन्द्र बुढा उपाध्यक्ष कृष्णबहादुर महरानिकट मानिन्छन् ।
उपमहासचिव वर्षमान पुन समूहबाट अध्यक्षमा सुदीन पौडेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष विराज थापा र महासचिव प्रतीक कार्कीलाई आफ्नो समूहमा ल्याउन पौडेल, बुढा र सापकोटा समूह छलफलमा छन् । सर्वसम्मतिको प्रयास असफल भएपछि अध्यक्ष प्रचण्डनिकट भनिएकाहरूबीच पनि सहमति हुन सकेन । सहमति नजुट्नुका पछि ३२ वर्षमाथिको उमेरसमूह र उमेरहद पक्षधरबीचको इगोले काम गरेको विद्यार्थी नेताहरू बताउँछन् । उमेरहदको विपक्षमा उभिएकालाई उमेरहदका कारण बाहिरिएकाले बोक्दा प्रचण्डनिकट भनिएकाहरूबीच नै विवाद बढ्दा धेरै उम्मेदवार बनेका हुन् ।
उमेरहदको पक्षमा अध्यक्षमा उम्मेदवार बनेका हेमन्त राई, सुदीन पौडेल र उपदेश यादव हुन् भने त्यसको विपक्षमा विजय सापकोटा थिए ।
प्रतिक्रिया दिनुहोस्: