रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुग्यो

काठमाडौं । कास्कीको सूर्यदशन सहकारीको रकम ठगी प्रकरणमा रवि लामिछानेलगायत ७ जनालाई जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउन माग राख्दै उच्च अदालत पोखरामा पुनरावेदन भएको छ ।
जिल्ला अदालत कास्कीले लामिछानेलगायत सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरू थुनामुक्त भएका थिए । जिल्ला सरकारकी वकिल कार्यालयले जिल्लाको सो आदेशविरुद्ध सोमबार उच्च अदालत पोखरामा पुनरावेदन गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले उच्चमा निवेदन दर्ता भएको जानकारी दिइन् । ‘जिल्ला अदालतबाट भएको आदेश चित्त नबुझेपछि उच्च अदालत गएका हौँ,’ उनले भनिन्, ‘अब यो केस उच्चमा दर्ता भएको छ ।
सातै जनाले धरौटी बुझाएर रिहा भैसकेका छन् । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
यस्तै, पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख, लीला पछाइलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्व सांसद मिना गुरुङलाई ५ लाख, मिनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: