प्रतिपक्ष मोर्चा बनाएर सरकार घेर्ने रणनीतिमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारविरुद्ध संसदका सबै विपक्षीलाई एकठाउँमा ल्याउन कसरत गरिरहेका छन् ।
माओवादीकै प्रभावमा रहेको समाजवादी मोर्चालाई सक्रिय बनाइएको छ भने बुधबार सिंहदरबारमा संसदका प्रतिपक्षी दलहरूको समेत बैठक बसेको छ । यो बैठकले तत्कालन संसद अधिवेशन आह्वानका लागि सरकारलाई दबाब दिने निर्णयसमेत गरेको छ ।
त्यसो त अध्यादेश ल्याएकोमा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक क्षेत्रभन्दा बाहिरबाट आलोचित भइरहेका छन् । यसरी ओली सरकारको आलोचना बढिरहेका बेला प्रतिपक्षी दलहरूले पनि ओली सरकारलाई घेराउ गर्ने रणनीति बनाएका हुन् । प्रतिपक्षी दलहरूको बैठकमा प्रचण्डले ओली संसद विघटन गरेको सही थियो भन्ने प्रमाणित गराउन लागिरहेको ब्रिफिङ गरेको बैठकमा सहभागी नेता गङ्गानारायण श्रेष्ठले बताए । उनले प्रचण्डको भनाइ भन्दै भने, ‘ओली आफूले गरेको संसद विघटन ठीक थियो भनेर अहिले पनि प्रमाणित गराउने ध्याउन्नमा छन् । संसद छलेर अध्यादेशबाट देश चलाइरहनुभएको छ ।’
बैठकमा प्रचण्डले आफूहरू सरकारका गतिविधि नियालिरहेको र अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘यो सरकारको गठन नै अलोकतान्त्रिक तरिकाले भएको हो । असंवैधानिक तरिकाले गठन भएको हो भन्ने कुरा उसका गतिविधिले प्रमाणित हुँदै गएका छन् ।’ दुईतिहाइको नजिकको सरकार हो भन्दै हिँड्ने तर अध्यादेशबाट देश चलाउनु गैरलोकतान्त्रिक भएकाले यसको विरुद्ध खबरदारी गर्नुपर्ने प्रचण्डले बैठकमा ब्रिफिङ गरेको श्रेष्ठले बताए ।
बैठकमा नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि सबै विपक्षीहरू एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । उनले बैठकमा बंगलादेश, दक्षिण कोरिया, श्रीलंकालगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको दाबीसमेत गरेको एक नेताले बताएका छन् । उनका अनुसार अध्यक्ष नेपालले भनेका थिए, ‘अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रकौ परिस्थितिले पनि उथलपुथलको सम्भावना छ । असन्तुष्टि भित्रभित्रै चरम रुपमा बढेको छ । यसलाई विपक्षी दलहरू मिलेर राजनीतिक रुपमा सेटल गर्नुपर्छ । अन्यथा अर्को लाइनमा जान सक्छ । मुलुकमा अर्को अप्ठेरो आउनसक्छ ।’
बिहान प्रतिपक्षी दलको बैठक बसेर सरकारलाई संसद आह्वान गर्ने निर्णय गराएका प्रचण्डले दिउँसो समाजवादी मोर्चाको बैठक राखेर ओली सरकारमाथि थप दबाब बढाएका छन् । मोर्चाले १६ माघमा काठमाडौंमा कार्यक्रमसमेत गर्ने निर्णय गरेको छ । लामो समय निष्क्रिय जस्तै बनेको मोर्चा अहिले फेरि सक्रिय बनेको हो । कार्यक्रमबाट जनतालाई यो सरकारले गरिरहेका असंवैधानिक कामका बारेमा जानकारी दिने निर्णय भएको श्रेष्ठले बताए । उनले भने, ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद हुँदाहुँदै सरकारले संसद छलेर अध्यादेश ल्याएको छ । यसबारेमा जनतालाई जानकारी गराउँछौँ ।’
प्रचण्डले मंगलबार मात्र काभ्रे पुगेर यो सरकार आफैँ ढल्न थालेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धनबाट बनेको हो । सत्तारुढ दल कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको छ । अलोकप्रिय काम गरिरहेकाले ढल्ने निश्चित नै छ । सरकारको आयु धेरै छजस्तो मलाई लाग्या छैन ।’
प्रचण्डले ओली नेतृत्वको सरकारले आफ्नो आयु आफैँ छोट्याइरहेको पनि बताए । उनले सरकार गिराउने र सत्तामा जाने खेलमा आफू भने नलागेको बताए । उनले भनेका छन्, ‘हामी सरकार ढाल्ने र बनाउने काममा लाग्दैनौँ । माओवादी अहिले जनताको बीचमा संगठन सुदृढ गर्ने अभियानमा छ । त्यसलाई हामीले निरन्तरता दिन्छौँ ।’
संसद अधिवेशन नबोलाई सरकारले एकैपटक २९ वटा कानुन संशोधन गर्न अध्यादेश ल्याएपछि सरकारविरुद्ध एकजुट हुन प्रतिपक्षी दलहरूले विजनेस पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्: