मनहरीमा दुर्घटना :प्रहरीले खोज्दै जाँदा अस्पतालको आइसियुमा भेट्यो गाडीका चालकलाई

हेटौंडा । शनिबार मकवानपुरको मनहरीमा दुइटा गाडी ठोक्किएपछि सम्पर्कविहीन रहेका स्कारपियो गाडीका चालक उपचाररत अवस्थामा भेटिएका छन्।
मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा वीरगन्जबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो गाडी र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको थियो।
स्कारपियो गाडीमा सवार १० जना यात्रु घाइते भएका थिए भने चालक रौतहटको देबही गोनाही नगरपालिका ३ का २७ वर्षीय कृष्ण प्रसाद साह सम्पर्कविहीन थिए।
उनको खोजी गर्दै जाँदा शनिबार राति ९ बजे वीरगन्जको स्पर्श अस्पतालमा उपचाररत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनको घाँटी र छातीमा भित्री चोट रहेको र आइसियुमा उपचार भइरहेको डिएसपी अर्यालले बताए । उनको स्वास्थ्य सुधारउन्मुख रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते भएका दुई जनाको शनिबार नै उपचारका क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेमा कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्र श्रेष्ठको र कारमै सवार चितवन राप्ति नगरपालिका २ गड्यौलीकी ५० वर्षीया सुनिता श्रेष्ठ छिन्। दुवैको उपचारका क्रममा मृत्यु भएको थियो।
कारमा चालकसहित ४ जना र स्कारपियो गाडीमा १० जना सवार थिए।
त्यस्तै स्कारपिओमा सवार पर्साको वीरगन्ज महानगरपालिका(२ छपकैयाकी २६ वर्षीय पुजादेवी शाह उनकी छोरी ८ वर्षीया प्रियान्सी शाह, २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशा कुमारी शाह, १५ वर्षीय ओम संकर साह, १९ वर्षीय राजिवकुमार साह, १९ वर्षीया आरति कुमारी साह घाइते भएका छन्।
त्यस्तै चार वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा छन्। घाइते सबैको भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: