Bagmati Samachar Logo

सहकारी ठगी आरोपित लेखा समिति सभापति पोखरेलकी श्रीमतीलाई अदालतलले धरौटीमा छोड्यो

 

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई अदालतले धरौटीमा रिहा गरेको छ।

मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

मोरङको धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालत सहकारी ठगी प्रकरणमा फरार थिइन्।

उनी पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।

 

विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन्।

कोइरालाका श्रीमान सांसद पोखरेलले भने आफू र आफ्नो परिवार सबैथरी परीक्षा दिन तयार रहेको बताउँदै आएका थिए । सहकारी ठगीमा श्रीमती मुछिएकोमा श्रीमान सांसद पोखरेलको आलोचना हुँदै आएको छ ।

यसबीचमा पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरूद्ध पनि ठगी गरेको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन्।