Bagmati Samachar Logo

पूर्वउपराष्ट्रपति पासाङ माओवादी उपाध्यक्ष बन्ने वरीयतामा छलफल हुदै

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) मा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ उपाध्यक्ष हुने पक्कापक्की भएको छ । उनको वरीयता भने टुंगिएको छैन । केन्द्रीय समितिको बैठक समापनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति पुनको कार्यविभाजन छिट्टै गरिने बताए । यद्पि उनले पुनलाई आफूले नै पार्टीमा सक्रिय हुन नभनेको प्रस्टीकरण दिएका थिए । पासाङले आफैँ सक्रिय हुन इच्छा देखाएको प्रचण्डको भनाइ थियो ।

तर, आन्तरिक रूपमा पासाङलाई राजनीतिमा दाहालले नै सक्रिय गराएको माओवादी स्रोत बताउँछ । उक्त स्रोतका अनुसार केन्द्रीय समिति बैठक बस्नुअघि दुई नेताबीच छलफल भएर नै पुन बैठकमा आएका हुन् । स्रोतले भन्यो, ‘पासाङलाई उपाध्यक्ष दिने सुनिश्चित भएको छ । तर, वरिष्ठ उपाध्यक्ष बनाउने कि नबनाउने भन्ने विषय टुङ्गिएको छैन । उपाध्यक्ष हुनेचाहिँ पक्कापक्की नै भएको छ ।’

मंगलबार केन्द्रीय समिति बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले पूर्वउपराष्ट्रपति पुनले सक्रिय राजनीतिमा आउन चाहन्छु भनेकाले आमन्त्रित रूपमा बोलाइएको बताएका हुन् ।

दाहालले भने, ‘मैले पासाङजीलाई आउनू भनेको होइन, रिटायर भएपछि म सक्रिय भूमिकामा आउन चाहन्छु भनिरहनुभयो । अनि आमन्त्रितकै रूपमा बोलाएको हो । म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो । उहाँको स्पिरिटअनुसार कार्यविभाजन गर्नेबेला भित्र पनि कन्फ्युज्ड नहुने, बाहिर पनि कन्फ्युज्ड नहुने, उपयुक्त हुने विकल्प खोज्छौँ ।’

स्थायी समिति बैठकमा स्थायी समिति सदस्यको सिटमा बसेका पासाङ केन्द्रीय समितिको बैठकमा भने पदाधिकारीको सिटमा बसेका थिए । माओवादीको बैठकमा केन्द्रीय सदस्यहरूले पासाङ सक्रिय राजनीतिमा आउनू भनेको प्रतिगमन हुने बताएका छन् । कसैले सम्मानित पदमा पुगेका व्यक्ति फेरि राजनीतिमा आउनु ठीक नभएको बताएका छन् ।

कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका केन्द्रीय सदस्य इन्द्र आङ्बोले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सामाजिक काममा लाग्दा उपयुक्त हुने बताएका थिए ।

‘केन्द्रको पदाधिकारीसहित सिनियर नेताले वैचारिक र खोज अनुसन्धान र अभियानहरूको जिम्मेवारी दिने नयाँ पुस्तालाई संगठनको जिम्मेवारी दिने काम गरौँ,’ आङ्बोले भनेका थिए, ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिले राजनीतिक क्षेत्रमा भन्दा पनि अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले जस्तो क्षेत्रको काम गर्नुपर्‍यो ।’

केन्द्रीय सदस्यहरू सुदन किराँती र लेखनाथ न्यौपानेले पनि पूर्वउपराष्ट्रपति पुन माओवादीमा सक्रिय हुन लागेको विषयमा प्रश्न उठाएका थिए । बैठकमा किराँतीले भनेका थिए, ‘पूर्वउपराष्ट्रपति राजनीतिमा आउने कुराले राम्रो सन्देश गएन, १२ हातकी सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौँ ।’

नेता न्यौपानेले पूर्वउपराष्ट्रपति पुनलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा पार्टी सदस्यता त्याग गरी राज्यको माथिल्लो जिम्मेवारीमा पुगेकाहरू सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने उल्लेख गरेका छन् ।

न्यौपानेले भनेका छन्, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ । बरु सुरुमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मेवारीमा पठाउनुपर्छ, नत्र त संगठनात्मक जीवनमा प्रवेशको ढोका खुल्ला हुने तर निस्कने ढोका सबै बन्द गर्दा नयाँहरूको प्रवेश हुँदैन र पार्टीको संगठनात्मक जीवन संग्रहालयमा बदलिन्छ ।’

माओवादी केन्द्रको बैठक तीन दिनसम्म चलेर आज सकिएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले आआफ्ना धारणा राखेका छन् ।