माओवादीले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरी अभियान चलाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रीत अभियान चलाउने प्रस्ताव गरेका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसको स्थायी समिति बैठकमा प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् ।
पुस २१ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बोलाइएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्ड ले दुइटा प्रस्ताव राखेकाको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नी सापकोटाले बताए । सापकोटाले भने, ‘अध्यक्षले दुइटा अभियान चलाउनुपर्छ भन्नु भएको छ। एउटा, मदन भण्डारी लोकमार्गलाई आधारित बनाएर र अर्को हुलाकी राजमार्गलाई केन्द्रित गरी अभियान चलाउनुपर्छ।’
अध्यक्ष प्रचण्डले कम्तीमा पनि ६ महिना जनताका बीचमा रहने गरी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको पनि सापकोटाले जानकारी दिए।
जनताले के चाहेका छन्, के खोजेका छन्, जनता के विचार गर्दैछन् भन्ने समग्र अध्ययन गर्न पनि यो अभियान आवश्यक छ,’ उनले भने, ‘यो देश रक्षा गर्ने दायित्व जनताको हो, यो अपिल गर्ने बेला आएको छ। हामीले जनतालाई पनि सुसूचित गर्नुपर्छ। जनता लोकतन्त्रप्रति प्रतिबद्ध छन्, समेट्न सकिन्छ भन्ने पार्टीको निष्कर्ष छ।’
प्रतिक्रिया दिनुहोस्: