Bagmati Samachar Logo

जनयुद्धु होइन भनेर फैसला लेख्दा सपना मल्लका हात काँपे कि काँपेनन् : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सर्वोच्च अदालतले जनयुद्ध शब्द प्रयोग नगर्नू नगराउनू भनी गरेको अन्तरिम आदेशको कडा शब्दमा आलोचना गरेका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा विप्लवले आदिवासी, महिला, जनजाति अहिले जुन ठाउँमा पुगेका छन्, त्यो जनयुद्धका कारण भएको भन्दै न्यायाधीश सपना मल्ल प्रधान न्यायाधीश हुनुमा पनि जनयुद्धको योगदान भएको विप्लवले बताए । उनले भने, ‘न्यायाधीश सपना मल्ल प्रधान न्यायाधीश हुनुमा पनि जनयद्धको योगदान छ । जसको योगदानले उहाँ न्यायाधीश हुनुभयो, त्यही जनयुद्ध शब्द प्रयोग नगर्नू भनेर फैसला लेख्न हात काँप्यो कि काँपेन होला रुु

विप्लवले अहिलेको गणतन्त्र जनयुद्धका कारण आएकाले ओलीले पहिरेको ताज र कुर्सी माओवादीलाई फिर्ता दिनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले पहिरेको ताज र बसेको कुर्सी माओवादी जनयुद्धले ल्याएको हो । यदि जनयुद्धप्रति यति पीडा छ भने त्यो कुर्सी र ताज माओवादीलाई फिर्ता दिनुहोस् ।’

उनले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरूले अहिले संसददेखि न्यायालयसम्म खिसी टिउरी गरिरहेको भन्दै आक्रोश पोखेका छन् ।

विप्लवले भने, ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसी टिउरी गर्ने काम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि अदालतसम्म छन् । त्यो कुरा अन्यत्र कर्मचारीतन्त्रमा पनि चलिरहेको छ । नेपालको राज्यसत्ता उदेकलाग्दो अवस्थामा छ । नेपालीमा एउटा उखान छ ‘लङ्का जित्ने हनुमान, पगरी गुथ्ने ढेडु’ जस्तो भएको छ । राज्यसत्तामा ढेडुहरूको मारामार छ । ढेडुहरूको ठूलो जमात खडा भएको छ । कोही रिसाएका छन् । कोही हाँसिरहेका छन् ।’

प्रधानमन्त्री ओली आफैँले गरेको तीनबुँदे सम्झौताबाट पछि हटेको विप्लवले बताए । उनले भने, ‘अहिले मुद्दा फिर्ता हुँदैन भनेर भनिएको सुनिएको छ । हामी आफैँ वार्ता गर्न आएका होइनौँ । तपाईंहरू खोज्दै आउनुभएको हो । यदि त्यो लागु नभए पनि केही छैन । हामी जनताका लागि लडेका हौँ । अझै पनि तयार छौँ ।’

यदि मुद्दा फिर्ता नलिएर के रोमियो अपरेसन र किलो शेरा टु लगाउने हो भन्ने प्रश्न गर्दै विप्लवले ओलीलाई भने, ‘किलो शेरा टु र रोमियो अपरेसन चलाउँदा के भयो रु सम्झना होला नि । फेरि पनि त्यही चाहेको हो ? यदि हो भने के हुन्छ, थाहा छ नि ।’

राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्ध माथि हमला गर्ने काम भइरहेको विप्लवले बताए । उनले भने, ‘जसलाई जनयुद्धको ‘ज’ पनि थाहा छैन, उसले हमला गर्ने प्रयास गरिराखेका छन् । हामीले समाजवादमा लैजान लडाइँ लडेका थियौँ तर आज भयङ्कर विपत्तिको सामना गर्नुपर्ने स्थिति छ ।’