Bagmati Samachar Logo

जनताले मनमनै फैसला गरिसके, जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताकोे पक्षमा र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन । प्रतिक्रियावादी जालिझेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन् । हामी समाजवादी नयाँ आन्दोलनमार्फत त्यसको प्रतिवाद गर्नेछौं । भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सकिँदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ । को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ ।’

माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्म ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनले बताए । माओवादी सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए ।

कार्यक्रमा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेताकार्यकर्ताको ठूलो टिम माओवादी केन्द्रमा समाहित भएको थियो ।