अखिल क्रान्तिकारीको २३ र २४ मा हुने राष्ट्रिय सम्मेलन स्थगित, पहिला प्रतिनिधि निक्र्यौल गर्ने

काठमाडौँ । यही २३ र २४ गते हुने अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । बिहीबार बसेको माओवादी केन्द्रका पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । सम्मेलनबाट मंसिर २७ गते बस्ने स्थायी समिति बैठकले निर्णय गर्ने सचिव दिनानाथ शर्माले जानकारी दिए । उनले भने,‘विद्यार्थी सम्मेलनको तिथि मिति २७–२८ बस्ने स्थायी समितिको बैठकले निर्णय गर्ने छ । यो एक हप्तामा विद्यार्थीको निर्वाचन आयोगले प्रतिनिधिको निक्र्यौल गर्ने छ । प्रतिनिधि कति हुन को को हुन भन्ने नहुदा कर्सी हानाहानको अवस्था आएको थियो । त्यो नहोस भनेर पहिला प्रतिनिधि निक्र्यौल गरेरमात्र सम्मेलनको मिति तोक्ने निर्णय भएको छ ।’
यो एक हप्तामा निर्वाचन आयोगले प्रतिनिधिको बारेमा छलफल गर्ने र त्यसको सुझाव पार्टीलाई दिएपछि २७ गते स्थायी समिति बैठकले निर्णय गर्ने छ । क्रान्तिकारीमा उमेर हद लगाउने र नलगाउने विषयमा विवाद हुदा सम्मेन हलमा कुर्सी हानाहान भएको थियो ।
यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो । विधानमा नै उमेर हद लगाउने कि न लगाउने भन्ने विषयमा विवाद हुदा विधान पास हुन सकेको छैन । सम्मेलनबाट विधान पास गरेर नेतृत्वको छनोट गर्न त्यो समयमा २३–२४ गते मंसिर मिति तोेकेको थियो । तर आज बसेको माओवादी पदाधिकारी बैठकले २३–२४ गतेलाई सम्मेलन स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: