Bagmati Samachar Logo

बुटवलमा रवि लामिछानेलाई सोधिए ७४ वटा प्रश्न

काठमाडाैं । सहकारीको रकम हिनामिनाबारे अनुसन्धानका लागि रुपन्देहीको प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले तीन दिनसम्म बयान लिएको छ । लामिछानेलाई रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा ७४ वटा प्रश्न सोधिएका छन् ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत समेत हुन् । उनलाई तीन दिनसम्म बुटवलको सुप्रिम सहकारीको दुई करोड रकम उनको नाममा आएको प्रकरणमा बयान लिइएको हो ।

बुटवलको सुप्रिम सहकारीबाट १४ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो । जसमा रविको नाममा आएको दुई करोड पनि जोडिएको छ ।

सुप्रिम सहकारीका १० हजार ३९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये झण्डै ७८ करोड अनियमित तवरले विभिन्न संघसंस्थामा लगेर खर्च गरेको पाइएको थियो । लामिछानेका अतिरिक्त छविलाल जोशी र जीबी राईको समूहले सुप्रिमबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडियामा लगेर कानुन विपरीत खर्च गरेको अनुसन्धानमा देखिएको संसदीय छानबिन समितिको प्रतिवदेनमा उल्लेख छ ।

लामिछाने गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक थिए । कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिना भएको सम्बन्धमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासत रहेका लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान भएको हो । यस अघि प्रहरीले २८ जनाविरुद्ध मुुद्दा चलाए पनि लामिछानेलाई छोएको थिएन ।

बयानमा जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकृतलगायतको सहभागिता थियो । सूर्यदर्शन सहकारी पोखरामा र सुप्रिम सहकारी रुपन्देहीमा रहेका कारण दुवै सहकारीको सम्बन्धमा सम्बन्धित ठाउँमै अलग–अलग मुद्दा दर्ता हुने छन् ।

रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले तीन दिनको अवधिमा रवि लामिछानेसँग ७४ सवाल जवाफ भएको जानकारी दिएका छन् । अनुसन्धान अझै बाँकी रहेको भन्दै न्यायाधिवक्ता पौडेलले अनुसन्धान प्रतिवेदन आएपछि मुद्दा चलाउने कि नचलाउने भन्ने विषयमा निर्णय हुने खुलाए ।